
काठमाडौं— लुम्बिनी प्रदेश सरकारमा दुई मन्त्री थपेर आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ ।
कांग्रेसबाट सरोज थापा र नेकपा माओवादीबाट सांसद कृष्णा केसीलाई मन्त्री बनाउने टुंगो लागेको गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले बताए ।
उनका अनुसार मुख्यमन्त्री डिल्ली चौधरीले शनिबार कांग्रेसबाट थापालाई मन्त्री बनाउने टुंगो लगाएका हुन् । थापा र केसीलाई आइतबार शपथ गराइने कार्यक्रम तय भएको पाण्डेयले बताए ।
केसी खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय मन्त्री बन्ने टुंगो लागेको छ । थापालाई पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
प्युठानका थापा कांग्रेस संस्थापन पक्षका सांसद हुन् । उनी प्युठानको प्रदेश सभा २ बाट विजयी भएका हुन्। उनी फिल्म क्षेत्रमा रोज राणाको नामले चिनिन्छन् ।
यस्तै माओवादीवाट केसीको नाम यसअघि नै पार्टीले सिफारिस गरेको थियो । बाँके क्षेत्र नम्बर १ (२) बाट विजयी केसी यसअघि प्रदेशको विना विभागीय मन्त्री बनेकी थिइन्।