News Griha :: न्यूजगृह
क्रिसमस मनाउन मकवानपुरको राक्सिराङ गाउँपालिकामा ३ दिन सार्वजनिक बिदा

काठमाडौं— मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाले क्रिसमस मनाउन आइतबारदेखि मंगलबारसम्म (तीन दिन) सार्वजनिक बिदा दिएको हो ।

गाउँपालिकाले विज्ञप्ति नै जारी गरेर सो अवधिभर गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने जानकारी गराएको छ ।

गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा ५ का अध्यक्ष हरिबहादुर प्रजाले कार्यपालिकाको बैठकबाटै तीन दिन बिदा दिने निर्णय भएको जानकारी दिए ।

सोमबार क्रिसमस र मंगलबार उँधौली पर्वको सार्वजनिक बिदा पर्ने हुँदा कार्यपालिका बैठकबाट आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय भएको उनले बताए ।

उनका अनुसार गाउँपालिकाभित्र ४६ प्रतिशतभन्दा बढी मानिसहरूले इसाई धर्म मान्छन् । क्रिसमस मनाउन शुक्रबारदेखि नै सुरु भएको छ । गाउँपालिकाभित्र विशेष महत्त्वका साथ मनाइने भएकाले त्यस दिन सार्वजनिक बिदा दिइएको प्रवक्ता प्रजाले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १९:३८
Weather Update