News Griha :: न्यूजगृह
 ‘सेटिङ’मा भिजिट भिसामा पठाउने गिरोहका थप एक पक्राउ

काठमाडौं— अध्यागमन र नेपाल एअरलाइन्ससँग सेटिङ गरी नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका थप एकजना पक्राउ परेका छन् ।

‘सेटिङ’मा भिजिट भिसामा पठाउने गिरोहबारे अनुसन्धान गरिरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मोरङको पथरी शनिश्चरे नगरपालिका-७ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने ४५ वर्षीय विनोद कार्कीलाई पक्राउ गरेको हो ।

कार्यालयका सूचना अधिकारी एसपी रविन्द्र रेग्मीका अनुसार उनी सिटी टुर्स एण्ड ट्राभल्सका सञ्चालक हुन् । योसँगै नक्कली कागजात बनाएर भिजिट भिसामा पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेको संख्या ३३ पुगेको छ ।

भिजिट भिसामा जाने युवायुवतीको १ हजार ५१३ थान कागजपत्र अनुसन्धान गर्दा प्रहरीले २४६ जनाको कागजपत्र नक्कली रहेको भेटेको थियो ।

नक्कली कागजपत्र भेटिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले असोज १७ गतेदेखि त्यसमा संलग्न गिरोह पत्ता लगाउन अपरेसन चलाएको थियो ।

अपरेसनकै क्रममा प्रहरीले नक्कली कागजपत्र बनाउन ट्राभल कम्पनी, कन्सल्टेन्सीदेखि अध्यागमन विभाग, नेपाल वायुसेवा निगमका कर्मचारी र विमानस्थलमा खटिने प्रहरीसम्मको संलग्नता भेटेको थियो ।

मंसिर २६ गतेसम्म कार्यालयको टोलीले उक्त गिरोहमा संलग्न रहेका ३२ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा नेपाल एअरलाइन्सका अधिकृत, अध्यागमन विभागका अध्यागमन अधिकृत त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी जवान लगायत छन् । 
 

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १४:४३
Weather Update