
काठमाडौं— कोरियन भाषा परीक्षा (ईपीएस) का लागि यसपटक १ लाख ४३ हजार जना भन्दा बढिले आवेदन दिएका छन् ।
अन्तिम दिन शुक्रबार राति १२ बजेसम्म १४३ हजार ८१२ जनाले भाषा परीक्षाका लागि आवेदन दिएको वैदेशिक रोजगार विभागका ईपीएस शाखा प्रमुख गुरुदत्त सुवेदीले जानकारी दिएका छन् ।
पुस २ गतेदेखि ईपीएसको लागि फारम खुला भएको थियो । अनलाइनबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएका कारण यसपालि अहिलेसम्मकै बढि आवेदन परेको शाखा प्रमुख सुवेदीले बताए । अनलाइन प्रणालीबाट आवेदन दिन सकिने व्यवस्था तीन वर्ष अघिदेखि मात्रै सुरु भएको थियो ।
गत साउनमा सञ्चालन भएको परीक्षामा अनुत्तीर्ण भएकाले समेत परीक्षा दिन पाउने हुँदा यसपालि परीक्षार्थीको संख्या १ लाख ७५ हजार हाराहारीमा पुग्ने सुवेदीले जानकारी दिए ।
गत साउनमा पानी जहाज निर्माण सम्बन्धी कामको लागि ईपीएस परीक्षा भएको थियो । यसमा आवेदन दिएर अनुत्तीर्ण भएकाहरूलाई यसपटकको परीक्षामा सामेल नगर्ने गरी आवेदन खुलाइएको थियो ।
त्यसबेला अनुत्तीर्ण भएका १८ जना उच्च अदालतमा यो निर्णयविरुद्ध गएका थिए । अदालतले सो समय अनुत्तीर्ण भएकाहरूले पनि यसपटकको भाषा परीक्षामा सहभागिता जनाउन पाउने निर्णय गरेको थियो ।
रोजगारीका लागि कोरिया जान सबैभन्दा पहिले भाषा परीक्षा पास गर्नुपर्छ ।
दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट १५ हजार ८ सय ४८ नेपाली रोजगारीका लागि लैजानेछ । जसमा उत्पादनमूलक क्षेत्रमा मात्रै सो सङ्ख्यामा आवेदन खुलाएको हो । यो क्षेत्रको लागि हाल खोलिएको आवेदनको परीक्षा मिति भने तोकिएको छैन ।













