चैनपुर (बझाङ)— साइपाल गाउँपालिका– ४ धुलीका सोनाम तामाङ ढिके नुन प्रयोग गरेरै हुर्किए । सात दशक पुराना उनलाई बाल्यकालदेखि नै ढिके नुनका लुकाल (भेडाच्याङ्ग्रामा बोकिने भारी) बोकेको खुब सम्झना आउँछ । च्याङ्ग्रा भेडामा बोकेर गाउँगाउँमा नुनको व्यापार गर्ने तामाङ दशकयता भने आयोडिनयुक्त धुलो नुन खाइरहेका छन् ।
विगत सम्झँदै उनी भन्छन्, ‘साइपाल गाउँपालिका र तलकोट गाउँपालिकावासी त हाम्रा ग्राहक नै हुन्थे । ताक्लाकोट (चीन) बाट बखरकाबखर (भेडाच्याङ्ग्राकोसमूह) मा नुन ल्याउँथ्यौँ । बखर चराउँदै बेच्थ्यौँ ।’
उहिले नुनको कारोबार पैसामा नभई चामलमा हुन्थ्यो । ‘नुनसँग चामल साटेर बखरमै ताक्लाकोट पुर्याउँथ्यौँ । ताक्लाकोटीलाई चामल चाहिन्थ्यो, बझाङीलाई नुन । नगद पैसाको कारोबार भने खासै हुँदैनथ्यो,’ उनले भने । तामाङले अहिले ढिके नुन ल्याउन छोडेको एक दशकभन्दा बढी भइसक्यो । ‘बुढ्यौलीले छोयो । ताक्लाकोट जान पनि सकिँदैन । कोरोना आएपछि नाका बन्द भयो । गाउँमा पाकेटमा धुलो नुन (आयोडिनयुक्त) आउन थाल्यो,’ उनले भने ।
बस्तुभाउका लागि सदरमुकाम चैनपुरबाटै ढिके नुन आउन थालेको उनले बताए । खप्तडछान्ना गाउँपालिका– ५ की देवकी जोशीलाई पनि ढिके नुनसँग चामल साटेको हिजो जस्तै लाग्छ । ‘गाउँमा भेडावालासँग नुन चामल साट्न छोडेको डेढ दशक भइसकेछ । अहिले त गाउँमा न भेडा आउँछन्, न ढिके नुन नै,’ उनले भने ।
गाउँमा २०६४/०६५ सालभन्दा अगाडि धेरै मान्छे आँखाका बिरामी भेटिन्थे । एकपटक सदरमुकामबाट आएका मान्छेले ढिके नुनका कारण आँखामा समस्या आएको भनेपछि पाकेटको नुन खान थालेको उनले सुनाए।
वर्षौँदेखि घरमा ढिके नुनकै प्रयोग गर्दै आएका गाउँलेले आयोडिनयुक्त नुन पाएपछि ढिके नुन छोडेको उनले बताए । ‘सुरुमा सरकारले सहुलियतमा दिने नुन नपाए पनि पाकेटको नुन किनेर खान्थ्यौँ । आजभोलि त घर घरै साल्ट्र ट्रेडिङको नुन पुगिसक्यो,’ उनले भने ।
जिल्लाभर आयोडिनयुक्त नुनको प्रयोग बढिरहेको छ । सबैभन्दा टाढा साइपालको धूली डिपोबाट पनि नियमित नुन बिक्री भइरहेको साल्ट्र ट्रेडिङ कर्पोरेसन बझाङ नरेन्द्र भाटले जानकारी दिए । उनका अनुसार बझाङमा वार्षिक १४ हजार क्विन्टलको हाराहारीमा नुन आवश्यक पर्छ । यस वर्ष भने झण्डै दुई हजार क्विन्टल कम आएको उनले बए । ‘सरकारले विगतका वर्षहरूमा भन्दा कम बजेट विनियोजन गरेकाले यसपटक कम परिणाम आएको छ । थपका लागि पत्राचार भएको छ,’ उनले भने ।