
काठमाडौं— कैलालीको गौरिफन्टा नाकामा नेपाल प्रहरीका हवल्दारमाथि भारतीय नागरिकले हातपात गरेका छन् ।
प्रहरीको पोशाक मै रहेका ती हवल्दारमाथि भारतीय नागरिकले हातपात गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ ।
भिडिओमा देखिएका प्रहरी हवल्दार डोकेबजार प्रहरी चौकीमा कार्यरत विष्णु भुल रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले बताए । उनी पुस ३ गते उपचारका लागि भारत जान लागेका भाइलाई गाडी चढाउन गौरिफन्टा नाकाको पारीपट्टि भारतीय भूमिमा गएका थिए ।
सोही क्रममा उनीमाथि भारतीय नागरिकले हातपात गरेको बुझिएको डीएसपी डाँगीले बताए । ‘उनीमाथि हातपात गर्ने व्यक्ति चिनेजानेकै हो भन्ने बुझिएको छ । सुरुमा गलामा हात राखेर कुराकानी गरेको र पछि हातपात गरेको भन्ने कुरा आएको छ’, डाँगीले भने, ‘यो विषयमा थप बुझ्ने काम भइरहेको छ ।’
घटना ३ पुसको दिउँसो २ बजेतिरको भएको प्रहरीले जनाएको छ । तर भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मात्र हवल्दारमाथि हातपात भएको कुरा खुलेको हो । हवल्दार भुलमाथि हातपात गर्ने व्यक्ति भारतको पलियाका पीयूष गुप्ता भएको खुलेको प्रहरी स्रोतले जनाएको छ । उनी भुलका चिनजानकै व्यक्ति हुन् ।
पुर्ख्यौली घर अछाम भएर हाल कैलालीको टीकापुर बस्दै आएका हवल्दार भुलमाथि हातपात भएको घटना सार्वजनिक भएपछि उनलाई डोकेबजारबाट इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती तानिएको छ । हवल्दार भुलमाथि हातपात गर्ने गुप्ता समूहलाई कारवाहीको माग गर्दै भारतीय प्रहरीमा निवेदन दर्ता गरिएको कैलाली प्रहरीले जनाएको छ ।













