News Griha :: न्यूजगृह
सामाजिक सञ्जाल नियमन पेचिलो

काठमाडौं सामाजिक सञ्जालको नियमन नेपालीको दक्षता र प्रविधिका तुलनामा निकै पेचिलो विषय भएकाले सञ्चार मन्त्रालयले गहन ढंगले हेरिरहेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले बताएका छन् । 

विज्ञापन बोर्डले बिहीबार आयोजना गरेको डिजिटल माध्यम तथा सामाजिक सञ्जालबाट हुने विज्ञापन नियमनका विषयको छलफलमा उनले निर्देशिका आएपछि टिकटक बन्द नभएको दाबी गरे ।

उनले सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरूले नेपालको कानुन मान्नुपर्ने बताए । ‘पेचिला कुराहरूलाई हामी एक्लै निर्णय गर्दैनौ । सम्बन्धित निकायसँग बस्छौ, मुख्यतः हामी व्यक्तिभन्दा माथि समाज, राष्ट्र, कानुन, संविधान छ,’ उनले भने, ‘कानुनका आधारभूत कुरा मानिदिनु पर्छ ।’ 

सामाजिक सञ्जालले कानुन मान्दिन भनेर छुट नपाउने उनले बताए । ‘कमसेकम त्यो सामाजिक सञ्जाल प्लेटफर्महरू आएर हामीसँग परिचित हुनुपर्यो, देखिनु पर्यो, सूचीकृत हुनुपर्यो,’ उनले भने । 

कार्यक्रममा सहभागी सञ्चारकर्मीले आफूले उत्पादन गरेका कन्टेन्ट लाई आधार बनाएर अरुले नै फाइदा लिइरहेको सरकारले हेर्नुपर्ने जिकिर गरे । कन्टेन्ट उत्पादकहरूको अधिकार क्षेत्र मिचेर फाइदा लिनेहरुमाथि नियमन हुन नसकेको उनीहरूको भनाइ थियो ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १९:२८
Weather Update