
काठमाडौं—गएराति रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा एकै गाउँका पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते छन् । जसमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
बुधबार राति साढे १० बजेको समयमा आठबीस नगरपालिका-१० को इजाखोला नजिक रा १ त १४ नम्बरको ट्याक्टर दुर्घटना परेको हो ।
दुर्घटनामा एकै वडाका पाँचजनाको मृत्यु भएको आठबीसको नगरपालिकाका नगर प्रमुख रवि केसीले जानकारी दिए ।
दुर्घटनामा आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया लुकी शाही, ५२ वर्षीय भर्दर सार्की, ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आठबीसकोट नगरपालिकाको राडीबाट घर्ती गाउँ जाँदै गरेको ट्याक्टर घुम्ती सडकमा मोड्न खोज्दा दुर्घटना परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घाइतेहरूको आठबीसकोट अस्पतालमा उपचार भइरहेको छ ।













