News Griha :: न्यूजगृह
डलर साटिदिने बहानामा लुटपाट, ८ जना पक्राउ

काठमाडौं— काठमाडौं उपत्यकामा डलर साटिदिने बहानामा लुटपाटका घटना हुन थालेको पाइएको छ ।

काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार यसरी लुटपाटमा गिरोहको समूह नै परिचालन हुने गरेको पाइएको हो । उनीहरुले विभिन्न स्थानबाट अमेरिकन डलर साट्ने भनी प्रलोभनमा पारेर डलर देखाई पैसा लुटपाट गर्ने गरेको पाइएको परिसरका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

उनका अनुसार यसरी डलर साट्ने नाममा लुटपाटका घटना भएको प्रहरीमा जानकारी आएपछि केही दिनअघिदेखि टोली परिचालन गरिएको पनि उनले बताए ।

5675-1703061152.jpg

यस्ता गिरोह सक्रिय रहेको छ भन्ने जानकारी आएकाले प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मङ्गलबारसम्म ८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ घर भई सामाखुसी बस्ने वर्ष ३४ का खड्कबहादुर तामाङ, मोरङ घर भई सोही ठाउँ बस्ने वर्ष ३६ का अशोक लिम्बू, सिन्धुपाल्चोकका रामबहादुर लामा, भक्तपुरको दुवाकोट बस्ने वर्ष ३६ का सुब्बा तामाङ, काठमाडौंको तारकेश्वर बस्ने वर्ष ४५ का चन्द्रबहादुर तामाङ, सिन्धुपाल्चोककै रेलबहादुर तामाङ, देवराज तामाङ र मञ्जु भन्ने कृष्णकुमारी तामाङ छन् ।

उनीहरूको साथबाट ५० दरको १६ थान सक्कली अमेरिकन डलर, दुईवटा राहदानी, तिलहरी र एउटा स्कुटर बरामद गरी थप अनुसन्धान थालिएको छ । उनीहरूमार्फत यसरी लुटपाटमा संलग्न अन्य व्यक्तिको खोजी पनि जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १४:१८
Weather Update