News Griha :: न्यूजगृह
बलात्कार मुद्दामा रेड नोटिस जारी भएका उमेश लामा कुवेतमा पक्राउ

काठमाडौं— जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक व्यक्ति कुवेतबाट पक्राउ परेका छन् । काभ्रेको चौँरीदेउराली गाउँपालिका- ८ घर भएका ३१ वर्षीय उमेश लामा पक्राउ परेका हुन् ।

उनी कुवेतमा वैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ ।   

कुवेत प्रहरीको समन्वयमा लामालाई पक्राउ गरी मंगलबार नेपाल ल्याइएको छ । लामाविरुद्ध भक्तपुरको प्रहरी वृत्त जगातीमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेको खुल्न आएको थियो ।

अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्न नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौंको अनुरोधमा इन्टरपोलबाट गत असोज ११ गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १८:०८
Weather Update