
काठमाडौं— संघीय सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई जिम्मेवारी बोध गरी काम गर्न सचेत गराएको छ ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय तहको भएकाले आफ्नो जिम्मेवारी बोध गरेर काम गर्न मेयर साहलाई सचेत गराउने निर्णय गरेको हो ।
बैठकमा शीतलनिवास, बालुवाटार र सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको अभिव्यक्ति अव्यवहारिक रहेकाले नीतिगत व्यवस्थाको परिपालना गर्न आग्रह गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबार, बालुवाटार, शीतलनिवासको फोहोर नउठाउने भन्ने काठमाडौं महानगरका प्रमुखको घोषणा नीतिगत व्यवस्थाविरुद्ध रहेको बताइन् । उनले भनिन्, ‘उहाँको अभिव्यक्ति राम्रो छैन भन्नेकुरामा छलफल भएको छ । नीतिगत रूपमा भएको व्यवस्थालाई सबैले पालना गर्नुपर्छ भन्ने कुरा भएको छ ।’
उनले बैठकमा नीतिगत व्यवस्थाअनुसार फोहोर उठाउन आग्रह गर्ने र फोहोर नउठे नीति पालना गर्न सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने विषयमा छलफल भएको बताइन् ।
उनले बैठकमा आयातित तथा उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाशक विषादीको प्रयोगमा सीमा निर्धारण गर्ने विषयलाई मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको बताइन् ।
‘आयातित तथा उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाशक विषादीको प्रयोगमा सीमा निर्धारण गर्ने भन्ने विषय हाम्रो समितिमा गएको थियो, समितिबाट आएर आज मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ,’ उनले भनिन् ।
मन्त्रिपरिषद्ले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यलाई नियुक्त गरेको पनि जानकारी दिइन् ।













