
काठमाडौं— भारतमा एकै दिन संसद्को दुवै सदनका गरी ७८ जना विपक्षी सांसद निलम्बित भएका छन् ।
गत साता संसद्को तल्लो सदन लोक सभाको बैठक चलिरहेका बेला दुई युवकले दर्शक दीर्घाबाट हाम फालेर सभा कक्षमा हल्लीखल्ली मच्चाएको विषयलाई लिएर गृहमन्त्रीको जवाफ माग गर्दै सोमबार विपक्षी सांसदले दुवै सदनमा विरोध गरेका थिए ।
सोही विषयलाई लिएर लोक सभाका ३३ र राज्य सभाका ४५ सांसदलाई सभा सञ्चालनमा अवरोध पुर्याएको भन्दै निलम्बित गरिएको हो ।
यसमध्ये ६४ जनालाई शीतकालीन सत्रको बाँकी अवधिसम्मका लागि र ११ सांसदलाई विशेषाधिकार समितिको प्रतिवेदन आउँदासम्मको अवधिका लागि निलम्बित गरिएको हो ।
विशेषाधिकार समितिको प्रतिवेदन तीन महिनापछि आउनेछ । यही विषयलाई लिएर गतसाता पनि १४ सांसद निलम्बित भएका थिए । सोमबारसहित कुल ९२ सांसद निलम्बनमा परेका छन् । यती ठूलो सङ्ख्यामा सांसद निलम्बन परेको इतिहासकै पहिलो घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसरी निलम्बनमा पर्ने सांसदहरूमा लोक सभामा कंग्रेसका नेता अधीर रञ्जन चौधरी र उपनेता गौरभ गोगोइ, तृणमूल कंग्रेसका सांसद कल्याण बेनर्जी, डीएमके पाटीका सांसद ए राजालगायत छन्।
कंग्रेस सभापति मल्लिकार्जुन खड्गेले विपक्षीरहित संसद्मा सरकारले विचाराधीन महत्त्वपूर्ण विधेयकलाई बिना कुनै बहस र असन्तुष्टि मनोमानी ढंगले पारित गर्ने आरोप लगाए ।
उनले सांसदहरूलाई निलम्बित गराएर मोदी सरकारले तानाशाही प्रवृत्ति देखाएको बताए ।













