News Griha :: न्यूजगृह
प्रधानमन्त्री दाहालले एक्सन रुमबाट हेरे सडक निर्माण, भन्छन्– ‘सन्तुष्ट हुन सकिएन’

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणगढ–मुग्लिन–पोखरा सडक निर्माणमा ढिला भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको एक्सन रूमबाट सोमबार अपरान्ह निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको भर्चुअल निरीक्षण गरेका उनले काम ढिला र गुणस्तरको नभएको भन्दै असन्तुष्टि पोखे ।

उनले भने, ‘हाम्रा परियोजनाहरू भनेजस्तो गरी अगाडि  बढेनन् र जनताले महसुस गर्नेगरी कामको प्रगति भएन । यसबाट सन्तुष्ट हुन सक्ने अवस्था देखिँदैन । यसतर्फ हाम्रो भूमिका गुणात्मक रूपले बढाउनुपर्छ ।’

सडकका लागि निर्माण सामग्री समयमै उपलब्धताको लागि सम्बन्धित निकायमा जानकारी आए सानातिना समस्या समाधान गर्न सकिने भन्दै उनले नियमित प्रतिवेदन दिनुपर्ने बताए ।

pm-action-room-3-1702901970.jpg

उनले भने, ‘गिट्टी, बालुवा ढुंगा, विद्युतका सानातिना समस्याहरू समाधान गर्ने कुरा हाम्रो काबुमा छ, त्यो हाम्रो जिम्मेवारी पनि हो,’ उनले भने, ‘फिल्डका कार्यालयले समयमै सम्बन्धित ठाउँमा नियमित प्रतिवेदन गर्नुपर्‍यो । समयमै कुरा आए समाधान गर्न सजिलो हुन्छ । दिनहुँ जनताले समस्या भोग्नुपर्ने समस्या अन्त्य हुनुपर्छ ।’

प्रधानमन्त्री दाहालले समयमै दुई परियोजनाको काम सम्पन्न हुनुपर्नेमा जोड दिँदै  फिल्डमै निरीक्षण गर्न जाने समेत उल्लेख गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

‘अब परियोजनामा माइलस्टोन सूचकका आधारमा प्रगति हुनुपर्छ । तोकिएको समयमा नै काम सकिनुपर्छ । यी कारणले काम भएन भन्न पाइने छैन, यी दुई प्रोजेक्ट महत्वपूर्ण छन् । समयमै सकिनुपर्छ । म पनि परियोजना निरीक्षणका लागि फिल्डमै आउँछु, अब धेरै समय विकासका कामलाई दिन्छु,’ प्रधानमन्त्री दाहालले भने ।

जनतालाई काम गरेर देखाउने आफ्नो अन्तिम अवसर नै यही कार्यकाल रहेको उनले बताए ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १८:०४
Weather Update