News Griha :: न्यूजगृह
कुवेतका अमिरको निधनमा आज नेपालले शोक मनाउँदै

काठमाडौं—  कुवेतका अमिर शेखको निधनमा सोमबार नेपालले शोक मनाउँदै छ ।

कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको शनिबार ८६ वर्षको उमेरमा निधन भएको थियो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनको सम्मानमा सोमबार शोक मनाउने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार आज देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जनाएको छ । 

अमिर शेखको निधनप्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट गहिरो दुःख प्रकट गर्दै कुवेत सरकार, कुवेतका जनता र स्वर्गीय अमिरको परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको पनि मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । 


 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  ०६:२८
Weather Update