
काठमाडौं— वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा एक व्यक्तिको हत्या गरेको आरोपमा काठमाडौंबाट एक जना पक्राउ परेका छन् ।
गत मंसिर २५ गते झापाको शिवसताक्षी नगरपालिका- ३ घर भएका ४० वर्षीय धनबहादुर प्रधानको मलेसियामा हत्या भएको थियो । धनबहादुर एक वर्षदेखि वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा थिए ।
धनबहादुर हत्या घटनामा पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका- ५ घर भएका २४ वर्षीय अनिलकुमार साह छन् । अनिलले धनबहादुरको हत्या गरि नेपाल आएको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
अनिलकुमार हुलिया बदली हिमालयन एअरलाइन्सको उडानबाट नेपाल आँउदै गर्दा प्रहरीले एअरपोर्टबाट उनलाई पक्राउ गरेको हो ।
मृतकको श्रीमतीको जाहेरी लिई अनिलविरुद्ध ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । यस विषयमा काठमाडौं प्रहरीले मलेसियन प्रहरी र मलेसियास्थित नेपाली दूतावाससँगसमेत समन्वय गरिरहेको छ ।
विदेशमा भएको अपराधमा अनुसन्धान भएको यो नै सम्भवतः पहिलो घटना हो ।
मुलुकी अपराध संहिताले नेपाली नागरिक वा अन्य कसैले नेपालबाहिर कुनै नेपाली नागरिकविरुद्ध ज्यान लिने वा हत्या प्रयास गरे, अपहरण, जबरजस्ती करणी, संगठित अपराध, खाद्य पदार्थ वा औषधि मिलावट गरे नेपालभित्र नै त्यस्तो कसूर गरे सरह सजाय हुने व्यवस्था गरेको छ ।













