
काठमाडौं— भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले पश्चिम क्षेत्रस्थित हुलाकी राजमार्ग कालोपत्र गर्ने सिलसिलामा भारतीय सशस्त्र सीमा दल (एसएसबी) ले अवरोध पुर्याइरहेको बताएका छन् ।
राष्ट्रिय सभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आजको बैठकमा उनले कञ्चनपुर, बेलौरी पचुई क्षेत्रमा बाधा पुर्याएको पनि जानकारी दिए ।
मन्त्री ज्वालाका अनुसार त्यस क्षेत्रमा सीमा विवादको पनि केही समस्या छ । त्यसका लागि पहल र पत्राचार भइरहेका छन् । निर्माणमा अहिले पनि अवरोध कायमै छ । उनले भने, ‘बेलौरीको पचुईस्थित नेपाल भारत सीमास्तम्भ रहेको स्थान नेपाली भूभागमा सडक कालोपत्र गर्न समेत भारतीय सुरक्षा बलको अवरोध कायम रहेको पाइएको छ ।’ हुलाकी राजमार्गले नेपालको तराई क्षेत्रस्थित पूर्वपश्चिमका २१ जिल्लालाई छुने गरी निर्माण भइरहेको छ ।
बैठकमा हुलाकी राजमार्ग निर्देशनालयका निर्देशक अजयकुमार मुलले कञ्चनपुरको ६० किमी क्षेत्रलाई २०/२० किमि क्षेत्रमा विभाजन गरी कालोपत्र काम भइरहेको जानकारी दिए । उनका अनुसार सो क्षेत्रमा तीन ठेक्कामध्ये एउटाको ९६ प्रतिशत काम पूरा भएका छ, दोस्रो खण्डको २० किमिमा ठेक्का व्यवस्थापन भएकोमा बेलौरी पचुई–खपती खोला क्षेत्रको एक हजार चार सय मिटर खण्डमा सीमा विवादले काम हुनसकेको छैन ।
निर्माणका क्रममा पूर्वतयारी स्वरूप पानीको निकास गर्दा र पर्खाल लगाउँदा कुनै अवरोध थिएन । कालोपत्रेका लागि ग्राभेल गर्न सुरुआत गर्ने क्रममा एसएसबीले अवरोध गरेको हो । राजमार्ग दशगजा क्षेत्रमा पर्ने जिकिर गर्दै एसएसबीले काम अघि बढाउन रोक लगाएको हो ।