
काठमाडौं— मंसिर १४ मा बैतडीको झुलाघाटबाट सुरु भएको नेकपा एमालेको पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रा आइतबार पूरा भएको छ ।
पाँचथरको चिवाभञ्ज्याङ पुगेर एमालेको संकल्प यात्रा १८ औँ दिनमा सकिएको हो ।
अध्यक्ष केपी शर्मा ओलीले चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर संकल्प अभियानको समापन गरेका हुन् । ओलीले झन्डोत्तोलन गरेर झुलाघाटबाट अभियान सुरु गरेका थिए ।
ओलीले यात्रामा सहभागीहरूलाई धन्यवाद दिएका छन् । राजनीतिक हिसाबले जनतामा निराशा फैलाइएको अवधिमा यात्राले जनतामा उत्साह फैलिएको विश्वास व्यक्त गरे। अन्य पार्टीमा समेत अभियानले प्रभाव पारेको ओलीले बताए ।
आफ्ना ठाउँका विशेषता, परिचय, समस्या लगायतका विषय ध्यानाकर्षण, मागपत्र ज्ञापनपत्रद्वारा नागरिकबाट बुझ्ने मौका पाएको बताउँदै ओलीले वैचारिक र जानकारीका हिसाबले पार्टीलाई मजबुत बनाएको र समस्या समाधानका लागि पार्टीलाई कार्ययोजना प्राप्त भएको बताए ।
‘देशको राजनीति अलमलमा छ, देशको समय, जनताको आयु, पिँढीको समय खेर गएको छ,’ अध्यक्ष ओलीले भने, ‘संकल्प यात्राले देश विकास र समृद्धिको दिशामा अघि बढाउन असाधारण भूमिका खेलेको छ।’