News Griha :: न्यूजगृह
टिपरको ठक्करबाट मामा-भान्जाको मृत्यु, आफन्तद्वारा यातायात बन्दको घोषणा 

दाङ— शुक्रबार राति टिपरको ठक्करबाट मृत्यु भएका मृतकका परिवारले आइतबार दाङमा यातायात बन्दको घोषणा गरेको छ ।

शुक्रबार राति घोराही उपमहानगरपालिका- १० झारबैरामा भएको दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारले उचित क्षतिपूर्तिको व्यवस्था नभएसम्म शव अस्पतालबाट नउठाउने र आइतबार दाङमा यातायात बन्दको आव्हान गरिएको संघर्ष समितिका संयोजक प्रमोद पोख्रेलले बताए । 

मृतकका परिवारका लागि उचित क्षतिपूर्तिको व्यवस्था नभएसम्म आन्दोलनका कार्यक्रमको घोषणा गरिएको संयोजक पोख्रेलले जनाए । उनले दोषी रहेका यातायात व्यवसायीले पीडित परिवारसँग कुनै कुराकानी गर्न नखोजेकाले सहमतिमा आउन नसकेको बताए । पोख्रेलले प्युठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष हुन् ।

दुर्घटनामा मोटरसाइकलमा सवार झिमरुक गाउँपालिका- ४ बांगेमरोठका १७ वर्षीय विशाल जिसी र नौवहिनी गाउँपालिका ६ लुङका १८ वर्षीय सागर केसीको मृत्यु भएको हो । नातामा उनीहरु मामाभान्जा हुन् । तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ क १३०७ नम्बरको टिपरले विपरीत दिशाबाट जाँदै गरेको रा २ प ५५८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

मृतकको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा राखिएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  ०७:०४
Weather Update