
काठमाडौं— प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा ठगी गरेको आरोपमा यूएईबाट एक आरोपीलाई पक्राउ गरेर नेपाल ल्याएको छ ।
सर्लाहीको साविक जानकीनगर गाविस–७ का कोमलराज उपाध्यायलाई पक्राउ गरेर नेपाल ल्याइएको सीआईबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार ठगी आरोपमा अदालतबाट उपाध्यायविरुद्ध पक्राउ पुर्जी जारी भएकाले यूएईमा पक्राउ गरेर सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ शुक्रबार नेपाल फिर्ता ल्याइएको हो ।
उनीविरुद्ध ब्युरोमा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउका लागि इन्टरपोल शाखाको अनुरोधमा २०७९ वैशाख २७ गते रेड नोटिस जारी भएको प्रवक्ता अधिकारीले बताए ।
उनले भने, 'सेक्युरिटीमा आकर्षक तलब र सुविधासहितको रोजगारी दिने प्रलोभन देखाई भिजिट भिसामार्फत दुबई बोलाएको तथा रोजगारीको लागि भन्दै आफूहरूबाट रकम लिएको तर बमोजिम रोजगारीमा नलगाई ठगी गरेको भन्दै ५१ जना पीडितले उनीविरुद्ध जाहेरी दिएका छन् ।'
५१ जना गरेर १ करोड ५५ लाख ९२ हजार ५२५ रुपैयाँ ठगी गरेको जाहेरीसमेत परेको छ ।













