News Griha :: न्यूजगृह
मेलम्चीको पानी छिटो ल्याउन माग गर्दै काठमाडौंवासी आन्दोलित

काठमाडौं— मेलम्ची खानेपानी आयोजनाको मर्मत सम्भार गरी यथाशीघ्र पानी ल्याउन माग गर्दै काठमाडौंका बासिन्दा आन्दोलित बनेका छन् ।

यसअघि स्थानीय संघर्ष समिति नै गठन गरी अर्थमन्त्री प्रकाशशरण महत र खानेपानीमन्त्री महिन्द्र राय यादवलाई भेटेर ज्ञापन पत्र समेत बुझाइसकेका उनीहरूले चरणवद्ध रुपमा विभिन्न कार्यक्रम गरी सरकारलाई दबाब दिइरहेका छन् ।

मेलम्चीको पानी छिटोभन्दा छिटो उपलब्ध गराउन सरकारलाई दबाब दिन नागरिकको  हैसियतले आफूहरूले पहल थालेको संघर्ष समितिका संयोजक गोविन्दराज पन्तले बताए ।

करिब ६ महिनादेखि मेलम्ची अवरुद्ध हुँदा पनि सरकारले चासो नदिएकोप्रति स्थानीयवासी आक्रोशित छन् । मेलम्चीको पानी गत वर्षामा बाढीले क्षति पुर्याएपछि काठमाडौंमा झरेको छैन । 

आयोजनाको पहिलो चरणको काम सकिएपछि ०७७ सालमा काठमाडौंमा पानी आएको थियो । अहिलेसम्म आयोजनाको सम्पूर्ण काम समेत पूरा भइसकेको छैन भने मेलम्चीबाट ल्याइएको पानीसमेत निरन्तर छैन । वर्षेनी बाढीका कारण आयोजनामा क्षति हुने बित्तिकै लामो समयसम्म पानी बन्द हुने गरेको छ ।

काठमाडौंको कोटेश्वर क्षेत्रका बासिन्दाले चरणवद्ध रुपमा सरकारलाई दबाब दिन आन्दोलनका कार्यक्रम गरिरहेका छन् । सोमबारदेखि सडकमा उत्रिएर आन्दोलनका थप कार्यक्रम अघि बढाउने संघर्ष समितिको तयारी छ । यसअघि काठमाडौंमा नेकपा एमालेले पनि मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन दबाब स्वरुप सडकमा प्रदर्शन गरेको थियो । 

नागरिकहरूले भने १२ मङ्सिरमा खानेपानी मन्त्री यादवलाई भेटेर ध्यानाकर्षण गराएका थिए । भेटमा मन्त्री यादवले यथाशीघ्र आयोजनाको मर्मत गरी पानी ल्याउने बचन दिएपनि अहिलेसम्म काम अघि बढेको छैन । शुक्रबार आयोजनास्थल पुगेर फर्किएका सांसद प्रदीप पौडेलले आयोजना स्थलमा धेरै काम नभएपनि सरकारको चासो कम देखिएको भनेका थिए ।

स्थानीयवासीहरूले भने सरकारले अटेरी गरेपछि आफूहरू थप सङ्घर्षका कार्यक्रम गर्न बाध्य बनेको बताएका छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  ११:०८
Weather Update