काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा सहभागी हुने बताएका छन् ।
मंगलबार पार्टी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनमा अध्यक्ष नेपालले आफूहरू संघीय सरकारमा सत्तारूढ गठबन्धनमा रहेको भन्दै प्रदेश सरकारमा पनि छिट्टै सहभागी हुने बताए । उनले संघ र प्रदेश सरकार दुवैमा आफूहरूको भूमिका हुने उल्लेख गरे ।
अध्यक्ष नेपालले राज्यले शिक्षा क्षेत्रलाई धेरै महत्व दिनुपर्ने बताए । उनले शिक्षकहरूको मर्यादा र जीवनस्तर राम्रो बनाउन विशेष लगानी गर्नुपर्ने बताए । उनले कुनैपनि बालबालिकालाई विद्यालय बाहिर राख्नु नहुने बताए । सबैले कम्तीमा कक्षा १२ सम्म पढ्नसक्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । उनले युवाहरूलाई प्राविधिक शिक्षा र प्राविधिक तालिम दिएर सीपयुक्त जनशक्ति उत्पादन गर्नुपर्ने बताए ।