
काठमाडौं— नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पूर्णविक्रम शाह (पल शाह) लाई सफाइ दिने उच्च अदालत पोखराको फैसला सर्वोच्च अदालतले दोहोर्याएर हेर्ने भएको छ ।
उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले पल शाहलाई सफाइ दिएको थियो ।
उक्त फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्याएर हेरि पाउँ भन्दै निवेदन दिएको थियो । उक्त निवेदनमा मंसिर २२ गते सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमा र हरि फुँयालको इजलासले उच्च अदालतको फैसला दोहोर्याएर हेर्न अनुमति दिएको हो ।
उच्च अदालतका न्यायाधीशले पल शाहको मुद्दामा प्रमाणको मूल्यांकन राम्रोसँग नगरेको, कानुनहरूको व्याख्या त्रुटीपूर्ण तरिकाले गरेको र नाबालिग बलात्कारका मुद्दामा सर्वोच्च अदालतले प्रतिपादन गरेका सिद्धान्तको प्रतिकुल हुने गरी सफाइ दिएको भन्दै सर्वोच्चले दोहोर्याएर हेर्ने भएको हो ।
नवलपुर जिल्ला अदालतले पल शाहलाई सफाइ दिने गरी गरेको फैसलाविरुद्ध उच्च अदालतमा सरकारी वकिलले निवेदन दिएको थियो । शाहलाई बाल यौन दुरुपयोगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने पनि फैसला नवलपुर अदालतले गरेको थियो ।
उक्त फैसलाविरुद्ध पलले पनि निवेदन दिएका थिए । दुवै निवेदन सँगै राखेर हेरेको उच्च अदालतले पल शाहलाई पूर्ण सफाइ दिएको थियो ।
शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै पीडितले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन् ।
तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन् । त्यही आधार देखाएर उच्च अदालतले सफाइ दिएको हो ।
बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले पनि सफाइ दिइसकेको छ ।














