
काठमाडौं— आमरण अनशन बस्न कैलालीको धनगढीस्थित गेटा मेडिकल कलेज पुगेका डा. गोविन्द केसी र स्थानीय संघर्ष समितिबीच विवाद भएको छ ।
गेटा मेडिकल कलेजमा अनशन बस्न काठमाडौंबाट जहाज चढेर धनगढी पुगेका केसीलाई संघर्ष समितिका सदस्यहरूले फर्काइदिएका हुन् ।
केसीलाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सदस्यहरूले अवरोध गरेका थिए। अवरोधपछि केसी आक्रोशित मुद्रामा देखिएका थिए । उनले स्थानीय संघर्ष समितिका सदस्यहरूलाई आफूले देखाइदिने पनि भन्न भ्याए ।
संघर्ष समितले आफूलाई प्रहरी लगाएर गेटामा छिर्न नदिएको आरोप केसीको थियो । गेटामा छिर्न नपाएपछि केसी अनशन नबसी फर्किएका छन् ।
दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले प्रतिष्ठानको विषयलाई आफ्नो मुद्दा नबनाउन केसीलाई आग्रह गरेका थिए।
सरकारले पटकपटकका सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले शुक्रबार साँझ ५ बजेदेखि तीन दिन अनशन बस्ने घोषणा गरेका थिए ।
केसीले गेटामा तत्काल स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्न माग गरेका थिए । तर आफूहरूले विश्वविद्यालय चाहिने माग गरेकाले केसीलाई साथ दिन नदिने अडान संघर्ष समितिका सदस्यहरूले राखेका छन् ।













