
काठमाडौं— प्रधानसेनापति प्रभुराम शर्माले रथी पदमा पदोन्नति भएका अशोकराज सिग्देललाई शुक्रबार दर्ज्यानी चिह्न प्रदान गरेका छन् । मन्त्रिपरिषद्को बिहीबारको निर्णय बमोजिम उनको पदोन्नति भएको हो ।
२०२३ साल माघ १९ गते कपिलवस्तुमा जन्मिएका रथी सिग्देल २०४३ साल फागुन ३ गते नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरी २०४५ साल जेठ १९ गते नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी भएका थिए ।
रथी सिग्देलले अनाश्रित गुल्मपति, पदिक गणको गणपति, बाहिनीपति, पृतनापति र कमान्ड सेनापतिका साथै प्रति विद्रोह तथा जङ्गल वारफेर शिक्षालयको शिक्षाधिकृत, युद्धकार्य निर्देशक, निरीक्षणाधिकृत, सम्भार रथी र व्यवस्था, नीति तथा योजना विभागको विभागीय प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।
भारत, इन्डोनेसिया, चीन, सिंगापुर र अमेरिकामा सञ्चालन भएका विभिन्न तालिम तथा सेमिनारहरूमा सहभागी भएका रथी सिग्देलले चीनबाट एनडीसी तालिम सम्पन्न गरेका छन् । उनी युगोस्लाभिया, ताजकिस्तान र लाइबेरियामा शान्ति सेनामा सहभागी भएका छन् ।
शुक्रबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति शर्माले रथी सिग्देलका साथै उपरथी दर्जामा पदोन्नति भएका सन्तोषबल्लभ पौडेललाई पनि दर्ज्यानी चिह्न प्रदान गरे ।

रथी सिग्देल बलाधिकृत र उपरथी पौडेल पश्चिम पृतनापतिमा नियुक्त भएका छन् ।













