
काठमाडौं— पूर्वगृहमन्त्री बालकृष्ण खाण ७ महिनापछि थुनामुक्त भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा छाड्ने निर्णय भएपछि उनी थुनामुक्त भएका हुन् । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले खाणलाई वैशाख २७ मा पक्राउ गरेको थियो ।
उच्च अदालत पाटनले खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश गरेको थियो । न्यायाधीश जनक पाण्डेले खाणलाई ३० लाखमा छाड्न आदेश गर्दा उनीसँग न्यायाधीश प्रकाश खरेल असहमत भएका थिए । बिहीबार न्यायाधीश कृष्णप्रसाद कोइरालाले खाणलाई ३० लाखमा छाड्न सहमत भएसँगै उनको रिहाइ प्रक्रिया सुरु गरिएको थियो ।
जिल्ला अदालत काठमाडौंमा धरौटी रकम बुझाएपछि उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको थियो । सम्पत्ति शुद्धीकरण विभागले उनीसँग १५ लाख धरौटी लिएको छ । त्यसपछि खाणलाई अख्तियार कार्यालय टङ्गाल लगिएको थियो ।













