कारागारबाट छुटे नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वगृहमन्त्री खाण, सम्पत्ति शुद्धीकरण र अख्तियार लगिँदै

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण केन्द्रीय कारागार जगन्नाथदेवलबाट छुटेका छन्।
शुक्रबार दिउँसो उनी कारागारबाट छुटेर जिल्ला अदालत काठमाडौंमा गएको कारागारका सहायक जेलर मित्र लुइँटेलले जानकारी दिए। उनका अनुसार जिल्ला अदालतबाट छुटेर खाण सम्पत्ति शुद्धीकरण विभागमा जाँदैछन्।
त्यहाँबाट उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा लगिनेछ। अख्तियारबाट छुटेपछि भने उनी तारेखमा हुनेछन्।
बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले उनलाई ३० लााख धरौटीमा छाड्न आदेश दिएसँगै छुटेका हुन्। उच्च अदालतबाट जिल्ला अदालतमा मिसिल पठाएसँगै खाणका आफन्तले ३० लाख रुपैयाँ बराबरको बैंक ग्यारेण्टी बुझाएका हुन्।
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८० १५:५०













