News Griha :: न्यूजगृह
राष्ट्रिय सभामा १९ सांसदको पदावधि सकिँदै , ‘नील’ हुने अवस्थामा एमाले

काठमाडौं— राष्ट्रिय सभामा नेकपा एमालेका ९ सहित १९ सांसदको पदावधि आगामी फागुन २१ गते सकिँदैछ ।

पदावधि सकिने एमाले सांसदको सूचीमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनादेखि मनोनीत सांसद एवं पूर्वपरराष्ट्रमन्त्री विमला पौड्याल राईसम्म छन् । त्यस्तै भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा, नरपति लुवार, रामचन्द्र राई छन् ।

गठबन्धन तर्फ पदावधि सकिनेमा नेपाली कांग्रेसका ४, नेकपा माओवादी केन्द्रका ३, नेकपा एकीकृत समाजवादीका ३ (स्वतन्त्र सांसद खिमलाल देवकोटासहित) र जसपाका एकजना सांसद छन् । आगामी माघ ११ गते हुने निर्वाचनले १९ जनालाई छान्नेछ । एकजना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मनोनित गर्ने छन् । 

पदावधि सकिनेमा नेपाली कांग्रेसबाट रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देव छन् । नेकपा माओवादी केन्द्रबाट हरिराम चौधरी, विना पोखरेल र महेशकुमार महराको पदावधि सकिँदैछ । त्यस्तै, नेकपा एकीकृत समाजवादीबाट सिंहबहादुर विश्वकर्मा, नन्दा चपाईंको पदावधि सकिँदैछ ।

जनता समाजवादीबाट सांसद प्रमिला यादव र स्वतन्त्र सांसद खिमलाल देवकोटा फागुन २२ माम पदमुक्त हुँदैछन् । राष्ट्रिय सभा चुनावका लागि प्रदेश प्रदेशका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष रहेको निर्वाचक मण्डलले मतदान गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभा चुनावका लागि दल दर्ता गर्ने आज अन्तिम दिन हो । अहिलेसम्म नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, एमाले लगायतले निर्वाचन आयोगमा दल दर्ता गरिसकेका छन् । नेपाली कांग्रेसले भने आज दल दर्ता गर्ने तयारी गरेको छ । 

एमालेलाई झड्का  

प्रमुख प्रतिपक्षी दलका रुपमा रहेको एमालेले एकैचोटि अध्यक्षसहित ९ सिट गुमाउँदै छ । माघ ११ मा हुने चुनावबाट एमालेले कति सिट जोगाउला ? यो प्रश्नबारे विभिन्न धारणाहरू चर्चामा छन् । अघिल्लो पटक १९ सिटका लागि भएको राष्ट्रियसभा चुनावमा एमालेलाई ‘क्लिन स्वीप’ गर्ने गठबन्धन दलले दाबी गरेका थिए ।

तर एमाले त्यसो हुनबाट हुनबाट जोगिएको थियो । त्यसबेला एमालेले राष्ट्रिय सभाबाट ७ सिट गुमाएको थियो ।  ५९ सदस्यीय राष्ट्रिय सभामा एमालेका १७ सांसद छन् । आगामी चुनावमा एमालेले ९ सिट गुमायो भने उसँग राष्ट्रिय सभामा ८ सांसद मात्रै बाँकी रहने छन् । त्यसैगरी राष्ट्रिय सभामा नेपाली कांग्रेससँग १० सिट छन् । यसमध्ये चार सांसदको सिट खाली हुँदैछ । गत चुनावमा तीन सिट खाली हुँदा कांग्रेसले ६ सिट जित हात पारेको थियो । यसपालि पनि उसले गुमेका ४ सिटमा एमालेका समेत खोसेर राष्ट्रिय सभाको पहिलो दल बन्ने रणनीति बनाएको नेताहरू बताउँछन् ।

त्यसो त माओवादीसँग हाल राष्ट्रिय सभामा १५ सिट छ । यसमध्ये तीन सिट खाली हुँदैछ । कांग्रेससँगको गठबन्धनमा माओवादीले पनि एमालेका ९ मध्ये केही सिट खोस्ने लक्ष्य लिएको सो पार्टीका नेताहरूको दाबी छ । एकीकृत समाजवादीका ८ सांसदमध्ये स्वतन्त्र भनिएका खिमलाल देवकोटासहित ३ जना बाहिरिँदैछन् । उसले पनि गठबन्धनकै बलमा राष्ट्रियसभामा संख्या बढाउने लक्ष्य लिएको सो दलका नेताको दाबी छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १३:००
Weather Update