News Griha :: न्यूजगृह
बुढेसकालको सहारा बन्ने सङ्कल्पसहित मायादेवी लगन गाँठो कसिन् तर १४ महिनामै जीवन गुमाइन् 

भक्तपुर— २०८९ असोज १९ गते बुधबार विजयादशमीका दिन ४३ वर्षीया मायादेवी शाक्यलाई विवाह भएको १४ महिनामै जीवनको अन्त्य होला भन्ने के थाहा थियो र ? सूर्यविनायक नगरपालिका–५ सिर्जनानगर बस्दैआएकी एकल महिला शाक्य र सोही वडाको कटुञ्जे बस्ने एकल पुरुष ६१ वर्षीय दानकाजी शाक्यबीच बुढेसकालको साहारा बन्ने सङ्कल्पसहित गतवर्ष विजयादशमीका दिन विवाह भएको थियो । 

बुढेसकालको साहारा बन्ने अपेक्षा गरेकी मायादेवीको शव पाँचदिनदेखि काठमाडौं मेडिकल कलेजको भक्तपुर दुवाकोटस्थित  शवगृहमै राखिएको छ भने पति दानकाजी चारदिनदेखि जगातीस्थित प्रहरी वृत्तको हिरासतमा छन् । 

मृतकको बाबु भक्तबहादुर र आमा यतिखेर छोरीको शवसमेत बुझ्न नपाउँदा पीडित छन् भने पतिलाई पत्नी हत्याको अभियोग लागेको छ । गत आइतबार राति खाना खाएर सुतेकी मायादेवी बिहान ओछ्यानमै मृत फेला परेकी थिइन् । सँगै सुतेकी श्रीमतीको कसरी मृत्यु भयो आफूलाई थाहा नभएको र बिहान उठ्दा मात्र मृत्यु भइरहेको अवस्थामा आफूले पाएको दानकाजीको जिकिर छ ।

सोमबार बिहान ५ बजे दानकाजीले आफूलाई घटनाबारे जानकारी गराए पनि खाना खाएर सँगै सुतेकी छोरीको मृत्यु स्वभाविक नभइ हत्या भएको भक्तबहादुर बताउँछन् । सँगै सुतेकी श्रीमतीको मृत्यु भएको थाहै नपाउने भन्ने हुँदन,  यति मात्र होइन शरीरमा निलडाम देखिएको र मुखमा घाउ भएकाले पनि घटना भवितव्य नभइ हत्या नै भएको उनको भनाई छ । 

शव परीक्षण रिपोर्टअनुसार बेलुकाको खाना नै नपचेको अवस्थामा उनको मृत्यु भएको देखाएकाले राति १० देखि ११ बजे भित्रै हत्या भएको आशङ्का छ । मृतकको दाहिने हातको कुममा, दुबै छातीमा, गलामा, खुट्टामा पिठ्युमा निलडाम रहेको, छाला लछारिएको, मुखभित्र घाउ रहेको, रगत जमेको पाइएको र शव परीक्षण गर्ने चिकित्सकले निसास्सिएर मृत्यु भएको हो, मृत्यु स्वभाविक होइन, शङ्कास्पद छ भनेको अवस्थामा शव बुझ्न नसकिने मृतकका आफन्तको भनाई छ ।

भक्तपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त पाठक घट्ना शङ्कास्पद रहेको बताउँछन्। ‘घट्ना शङ्कास्पद भएकाले मृतकको पतिलाई हामीले चारदिनदेखि नियन्त्रणमा लिएर म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेका छौँ,’ उनले भने । 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १५:३३
Weather Update