
कञ्चनपुर— भीमदत्त नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक साताको लागि भन्दै भीमदत्त नगरपालिका–४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा बिहीबारदेखि निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीद्वारा जारी आदेशमा भनिएको छ, ‘भीमदत्त नगरपालिका ४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा सालिक स्थापना गर्न दिने नदिने सम्बन्धमा विभिन्न राजनीतिक दलहरूबीच मतभिन्नता भई आएको सन्दर्भमा सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम राख्न तथा अत्यावश्यक सेवालाई निर्बाध सञ्चालन गर्नका निम्ति जिल्ला सुरक्षा समिति कञ्चनपुरको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६, ३ (क) बमोजिम देहायको क्षेत्रमा मिति २०८०/८/२८ गतेदेखि ७ दिनसम्मको लागि ५ जनाभन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेश जारी गरिएको छ ।’
केही दिनयता राप्रपाले संविधान चोकमा पूर्वराजा महेन्द्र शाहको सालिक स्थापनासहित कार्यक्रम गर्ने तयारी गरिएको छ । संविधान चोकमा रहेको भीमदत्तको सालिकको ठाउँमा राप्रपाले महेन्द्रको सालिक राख्ने तयारी गरेको थियो । त्यसलाई मध्यनजर गर्दै दुई पक्षबीच झडप हुने आशङ्कामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
बिहीबार भीमदत्त नगरपालिकामा राप्रपाले जनभेला आयोजना गरेको थियो । भेलामा सहभागी हुन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेता रवीन्द्र मिश्र, ज्ञानेन्द्र शाही, धवलशमशेर राणालगायत कञ्चनपुर पुगेका छन् ।














