News Griha :: न्यूजगृह
पूर्वगृहमन्त्री खाणको निवेदनमाथि सुनुवाइ हुँदै, कुन न्यायाधीशको इजलासमा चढ्यो पेसी?

काठमाडौं— नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणले दिएको निवेदनमाथि उच्च अदालत पाटनमा बिहीबार सुनुवाइ हुने भएको छ । 

यसअघि खाणको हकमा दुई न्यायाधीशबीच राय बाझिएकाले तेस्रो न्यायाधीशकोमा सुनुवाइ हुन लागेको हो ।  सुनुवाइका लागि न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा पेसी चढेको छ । गोला प्रक्रियाबाट इजलास टुंगो लागेको हो । कोइरालाले यसअघिका दुई मध्ये जुन न्यायाधीशको राय समर्थन गर्छन्, त्यही आदेश कार्यान्वयन हुन्छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइपछि खाणका सम्बन्धमा उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको हो । पाण्डेले खाणलाई ३० लाख धरौटीमा छाड्नुपर्छ र खरेलले थुनामै राख्नुपर्छ भन्ने राय दिएका थिए । कोइरालाले छुट्ने आदेश दिएमा खाण छुट्ने छन् भने अन्यथा कारागारमै रहने छन्  । 

तर कोइरालाले  तेस्रो राय दिएमा निवेदन सुनुवाइका लागि सर्वोच्च अदालतको एकल इजलासमा पुग्नेछ ।  

मंसिर १५ मा उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, आङटावा शेर्पासहित ९ जनालाई थुनामै राख्न आदेश दिएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १०:३७
Weather Update