
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको हवाई सेवालाई व्यवस्थित गरेर युरोपियन युनियनको कालोसूचीबाट हटाउन प्रयास गर्ने बताएका छन् ।
प्रधानमन्त्री दाहालले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नियमन र सञ्चालनको दुवै काम गर्दा हवाई सेवाको सुरक्षा तथा गुणस्तर आवश्यक मापदण्ड अनुसारको हुन नसकेको स्वीकार्दै यसमा सकेसम्म चाँडो सुधार गरिने आश्वासन पनि दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधिमण्डलले आज बिहान प्रधानमन्त्री दाहाललाई भेटेर विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै हवाई सुरक्षाको नाजुक अवस्थाबारे पनि सुधारको आवश्यकता औंल्याएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डीपी अर्यालले प्रधानमन्त्री दाहालले क्यानको अधीनमा रहेको नियमन र सञ्चालनको जिम्मेवारी अलग गरेर विमानस्थल व्यवस्थापनलाई चुस्तदुरुस्त पार्ने वचन पनि दिएका छन् ।
आफूले यसबारे गम्भीर रुपमा अध्ययन गरिरहेको र सकेसम्म चाँडो यसमा महत्वपूर्ण निर्णय हुने प्रधानमन्त्रीको भनाई उदृत गर्दै उपाध्यक्ष अर्यालले बताए ।