News Griha :: न्यूजगृह
सुर्तीजन्य पदार्थ बेचबिखन निगरानी गर्न काठमाडौंका मुख्य चोकमा नगर प्रहरी परिचालन
फाइल तस्बिर ।

काठमाडौं— काठमाडौं महानगरपालिकाले बिहीबारदेखि शहरका पसलहरूमा सुर्तीजन्य पदार्थ बेचबिखन भएनभएको निगरानी गर्न जनशक्ति परिचालन गरेको बताएको छ ।

कोटेश्वर, बालाजु, महाराजगञ्ज, चाबहिल र गौशाला क्षेत्रमा महानगर प्रहरीले लुकाएर बिक्री गरिरहेका पसलहरूमा गएर पहिलो पटकलाई सचेत गराइरहेको स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले बताए ।

पहिलो दिन भएकाले महानगर प्रहरीले व्यापारीहरूलाई सचेत गराउँदै हिँडिरहेको तर बिक्री वितरणमा भने पूर्ण निगरानी राखिएको विभाग प्रमुख पौडेलले बताए ।

महानगरले सर्वसाधारणको स्वास्थ्यमा प्रतिकुल असर परेको, प्रदूषण र शहरमा बढ्दो दृश्य प्रदूषण रोक्न काठमाडौं भित्र सुर्तीजन्य पदार्थ कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्तीहरूको बिक्रीवितरणमा आजदेखि प्रतिबन्धको घोषणा गरेको छ ।

बुधबार पत्रकार सम्मेलनमा महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले मङ्सिर २८ गतेदेखि काठमाडौं भित्र सुर्तीजन्य पदार्थ प्रतिबन्ध गरिएको जानकारी गराएका थिए । आज मङ्सिर २८ गतेपछि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल समेत बन्द गर्ने उनले  बताएका थिए ।

महानगरले पसलमा यस्ता पदार्थ बेचेको पाइए दुई पटक सम्मलाई सामान जफत गरिने तर तेस्रो पटक पनि बेचेको पाए पसल नै बन्द गर्ने चेतावनी दिएको छ ।

महानगरले अनुगमनको लागि महानगरपालिकाले सादा पोसाकमा १० जनाको टोलीमा नगर प्रहरीलाई खटाएको छ भने पहिलो चरणमा अनुगमनको लागि ५० जना नगर प्रहरी परिचालन गरेको जनाएको छ ।

महानगरले सार्वजनिक स्थलको एक सय मिटर वरिपरि चुरोट बेच्न र धूम्रपान गर्न पनि प्रतिबन्ध लगाएको छ । सार्वजनिक स्थलमा धूम्रपान गरेको पाइए १ सय रुपैयाँसम्म जरिवाना गर्ने यसअघिको निर्णय कार्यान्वयनमा पनि कडाइ गरिने महानगरले चेतावनी दिएको छ ।

जनस्वास्थ्यमा परेको प्रतिकुल प्रभाव रोक्न, शहरी सौन्दर्य कायम राख्न र भूमि तथा वातावरणीय असर न्यूनीकरण गर्न सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएको महानगरको भनाई छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  ०९:५८
Weather Update