News Griha :: न्यूजगृह
महानगरले काठमाडौंमा २६४ वटा बस बिसैनी निर्माण गर्ने

काठमाडौं— काठमाडौं महानगरपालिकाले २६४ ठाउँमा बस बिसौनी निर्माण गर्ने योजना बनाएको छ ।

बस बिसौनिसँगै नगरभित्र यातायात प्रणालीको सुधारका लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ् लाइट विस्तार गर्दै जाने, एकतर्फी सडकहरुको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा कोन र डिभाइडरको व्यवस्थापन गर्ने, पेट्रोल पम्प व्यवस्थापन गर्ने, सडक संकेत र चिन्ह व्यवस्थापन गर्नेलगायत काम गर्ने तयारी गरेको छ ।

यससँगै दैनिक उपभोग्य बस्तुको ढुवानी, मालबाहक सवारी, विद्यालयका बसहरुको समय निर्धारण गर्ने, पार्किङ्ग व्यवस्थापन गर्ने, विद्यालयमा यातायात प्रणाली सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने महानगरको तयारी छ । २९ औँ महानगर दिवस २०८० का अवसरमा बुधबार महानगरपालिकामा आयोजना गरिएको महानगरपालिका र ट्राफिक प्रहरीबीच समन्वय तथा सहकार्य सम्बन्धी अन्तरक्रियामा यस सम्बन्धी जानकारी दिइएको हो । 

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को पहिलो बैठक सम्पन्न भइसकेको जानकारी गराउँदै सम्बद्ध कार्यालयहरुसँग सहकार्य अगाडि बढाइएको उल्लेख गरे । 


अहिले यातायात व्यवस्थापनमा सानातिना सुधारका कामबाटै सुरुवात गरी प्रणालीमा सुधार ल्याउनेमा महानगरले जोड दिएको छ ।  
काठमाडौंमा अटो रिक्सा, इरिक्सा र ठेला प्रयोगमा पूर्ण रोक लगाउने अधिकारीको भनाइ छ ।  
 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १४:५८
Weather Update