
काठमाडौं— एनसेलको शेयर बिक्री रोक्न माग गर्दै प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा पेसी तोकिएको छ ।
सांसद सिंहले शुक्रबार दायर गरेको रिट निवेदनमा पेसी तोकिएको बुधबार चौथो पटक हो । यसअघि आइतबार, सोमबार र मंगलबार पेसी तोकिएर पनि उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।
आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा र सोमबार न्यायाधीश विनोद शर्माको एकल इजलासमा र मंगलबार प्रकाशकुमार ढुङ्गानाको इजलासमा पेसी तोकिए पनि उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।
नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानी पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको शेयर खरिदबिक्री भएको दाबी रिट निवेदनमा गरिएको छ । सांसद सिंहले शेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गरेका छन् ।













