News Griha :: न्यूजगृह
बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई ठूलो राहत

काठमाडौं— बेलायतका प्रधानमन्त्री ऋषि सुनकले रुवाण्डा आप्रवासन नीतिमा ठूलो राहत पाएका छन् ।

बेलायती संसद्मा रुवाण्डा आप्रवासन विधेयक पारित भएको छ । प्रधानमन्त्री सुनकको कन्जरभेटिभ पार्टीका सबै सांसदहरूले सरकारको रुवाण्डा आप्रवासन विधेयकको पक्षमा मतदान गरेपछि सुनकलाई ठूलो राहत मिलेको हो । 

हाउस अफ कमन्समा पार्टीका ३१३ सदस्यमध्ये २६९ जनाले विधेयकको पक्षमा मतदान गरे । जुन ४४ मतको बहुमत हो ।

तर, कन्जरभेटिभ पार्टीका ३८ सांसदहरूले भने मतदानमा भाग लिएनन् । जसमा बर्खास्त गरिएका गृहमन्त्री सुएला ब्रेभरम्यान र राजीनामा दिएका बेलायतका अध्यागमन मन्त्री रोबर्ट जेनरिक पनि छन् । 

यसअघि प्रधानमन्त्री सुनकले कन्जरभेटिभ पार्टीका सांसदहरूको समर्थन जुटाउन अभियान सुरु गरेका थिए । धेरै सांसदहरूले विधेयकको विरोध गर्ने धम्की दिएका थिए । यो विधेयकले पूर्वी अफ्रिकी देश रुवान्डामा अवैध आप्रवासीहरूलाई देश निकाला गर्ने कानुनी अवरोधहरू हटाउने लक्ष्य राखेको छ । 

मंगलबार विधेयकमा प्रारम्भिक चरणको मतदान अघि प्रधानमन्त्री सुनकले कानुनी चुनौतीहरूबाट बच्न पर्याप्त नभएको महसुस गर्दै विधेयकको विरोध गरिरहेका पार्टीका दक्षिणपन्थी सदस्यहरूका लागि बिहानको खाजाको आयोजना गरे । 

प्रस्ताव पारित भएसँगै प्रधानमन्त्री सुनक आफ्नै पार्टीभित्रको परीक्षामा उत्तीर्ण भएका छन् । जसले पार्टीमा उनको पकड पनि बलियो बन्दै गएको संकेत पनि गरेको छ ।

 

 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  ०९:१६
Weather Update