काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ब्याजदर घटाउने विषयमा सरकार छलफलमा रहेको बताएका छन् ।
मंगलबार उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारण सभामा उनले बैंक ब्याजदर कम गर्ने र राजस्व संकलनलाई बढाउने बारेमा सरकारका सबै अंगसँग आफू छलफलमा रहेको बताए । उनले सरकार बजेट तथा नीति निर्माणको प्रक्रियामा अन्तिम चरणमा रहेको बताउँदै आगामी वर्षको बजेटमा अर्थतन्त्रको समस्या समाधान गर्ने उपायसहितका योजना समावेश गरिने बताए ।
उनले सरकारले पछिल्लो अर्थतन्त्र सुधारका लागि सम्पूर्ण शक्ति लगाएर काम गरिरहेको पनि बताए । उनले सरकारले राजस्व संकलन, रेमिट्यान्स र अन्य अर्थतन्त्रका सूचकहरूलाई कसरी चलायमान बनाउने भन्नेबारेमा जोड दिइरहेको बताए ।
प्रधानमन्त्री दाहालले आफूले सरकार सञ्चालन गरेको तीन महिनामा विदेशी मुद्राको सञ्चिति उत्साहजनक हुँदै गएको बताए । ‘यो बीचमा गरिएका कामहरू केही राजनीतिक उतारचढावका कारण जति तीव्रताका साथ जानुपर्ने हो, त्यति जान सकेको छैन,’ उनले भने, ‘अलि अप्ठ्यारो परेकै हो तर, अब परिस्थिति फेरिएको छ । हामीले अब सम्पूर्ण तागत अर्थतन्त्रलाई लयमा ल्याउन, गति दिन तरलताको समस्या भनेका छौँ त्यसलाई, राजस्व संकलनको स्थितिलाई, रेमिट्यान्सको स्थितिलाई र अन्य अर्थतन्त्रका सूचकहरुलाई कसरी समाधान गर्ने भन्नेमा निकै बढी जोड गरिएको छ र तीन महिनाको गएको अवधिमा सन्तोष गर्ने ठाउँ के छ भने विदेशी मुद्राको सञ्चिति सन्तोषजनक मात्रै होइन, बिस्तारै उत्साहजनक छ ।’
झन्डै ११ महिना पुग्ने विदेशी सञ्चिति अहिले देशसँग रहेको उनले जानकारी दिए ।
प्रधानमन्त्री दाहालले लगानीमैत्री एवं व्यवसायमैत्री वातावरणका लागि सरकारले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कृषिको उत्पादन पछिल्लो समय घटेको र कृषिजन्य सामग्री नेपालमा धेरै आयात हुँदै जानु दुःखद् भएको बताए ।
उनले सरकार आगामी आर्थिक वर्षको बजेट तथा नीति निर्माणमा केही ठूला, नयाँ र गुणात्मक योजना अघि बढाउने तयारीमा रहेको पनि बताए ।