News Griha :: न्यूजगृह
सुन तस्करी प्रकरणका अभियुक्तलाई छुटाउने भन्दै ठगेको आरोपमा दुई जना पक्राउ

काठमाडौं— भेपमा लुकाएर तस्करी गरी ल्याएको नौ किलो सुन चोरी गरेको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी नवराज अधिकारीले बताए । भोजपुर घर भई नागार्जुन नगरपालिका-१ रानीवन बस्ने २६ वर्षीय रितु राई र बर्दिया घर भई रानीवन बस्ने २१ वर्षीय निरेश चौधरी पक्राउ परेका हुन्।

उनीहरूले पुर्पक्षको लागि जगन्नाथदेवल थुनामा रहेका वीरेन्द्रनगर नगरपालिका-५ घर भएका रेवन्त खड्काको मुद्दा मिलाइदिने बताएका थिए । 

रेवन्तलाई छुटाइदिन्छु भन्दै उनका बुवा अमरबहादुरबाट पटकपटक गरी ९९ लाख ७५ हजार रुपैयाँ लिएको आरोप छ। यसरी पैसा लिएर ठगी गरेको उजुरीपछि ब्युरोले सोमबार दुई जनालाई पक्राउ गरेको हो । राई र चौधरीमाथि आपराधिक विश्वासघात तथा ठगी मुद्दामा अनुसन्धान अघि बढाएको छ । 

रेवन्त त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा थिए । उनी विमानस्थलमा कार्यरत रहँदा २०७९ पुस १० गते फ्लाइ दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङले लगेजमा भेपमा सुन लुकाएर ल्याएका थिए । 

भेप जफत भएको र त्यसभित्र सुन रहेको थाहा पाएपछि रेवन्त लगायतले मिलेर सुन चोरी गरेको आरोप छ । उक्त नौ किलो सुन ६ करोड रुपैयाँमा भारतीय व्यापारीलाई बेचेको खुलेको थियो । जसबापत रेवन्तले बैंकमा ६५ लाख र १० लाख रुपैयाँ नगद नै लिएको ब्युरोको अनुसन्धानबाट खुलेको थियो । 
उनीसहित चोरीमा संलग्न व्यक्तिहरूलाई प्रहरीले आपराधिक विश्वासघात र सङ्गठित अपराध कसुरमा मुद्दा चलाएको थियो । त्यस कसुरमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाएको थियो ।

यही मुद्दामा ब्युरोले पूरक अनुसन्धान गरी पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महराको संलग्नता देखिएको भन्दै पक्राउ गरेको थियो । हाल उनी पनि पुर्पक्षको लागि थुनामा छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १८:०१
Weather Update