
वीरगञ्ज— वीरगञ्ज महानगरपालिकामा मंगलबार मेयर र उपमेयरका समर्थकबीच विवाद हुँदा कुटाकुट भएको छ ।
स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।
कार्यकारी अधिकृतको कार्यालय अर्को भवनमा सरेपछि खाली भएको पुरानो कार्यालय रहेको कोठामा सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा सार्ने विषयमा विवाद भएको थियो ।
महानगर परिसरको दक्षिणपट्टिको भवनको नवनिर्मित तेस्रो तल्लामा केही दिन अगाडि मेयर राजेशमान सिंहको कार्यालय सरेको थियो । मेयर सिंहको कार्यालय सरेपछि उनको पुरानो खाली भएको कार्यालयमा कार्यकारी अधिकृतको कार्यालय सारिएको थियो । यसअघि कार्यकारी अधिकृतको कार्यालय उपमेयरको कार्यालयसँग टाँसिएको थियो ।
कर्मचारीका अनुसार कार्यकारी अधिकृतको कार्यालय सरेपछि खाली भएको कोठामा सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा बनाउने योजना रहेको थियो । हाल पञ्जिकरण शाखा साँघुरो कोठामा सञ्चालित रहेको छ ।
कर्मचारी स्रोतका अनुसार उपमेयर इम्तियाज आलमको सचिवालयले कार्यकारी अधिकृत सरेपछि खाली रहेको कोठालाई आफूले प्रयोग गर्ने बताएका थिए ।
पञ्जिकरण शाखाका लागि कोठा दिन नमान्दा मेयर र उपमेयरका समर्थकबीच घम्साघम्सी भएको थियो । विवाद बढ्दै गएपछि मेयर र उपमेयरका समर्थक महानगरमा ओइरिएका थिए । प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले महानगरकोस्थित सामान्य रहेको बताएका छन् । गत स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकामा कांग्रेस र जसपा गठबन्धनका मेयर र उपमेयरका उम्मेदवार विजयी भएका थिए ।













