News Griha :: न्यूजगृह
किन घट्दैछन् स्वदेशी विश्वविद्यालयमा विद्यार्थी ?

काठमाडौं— उच्च शिक्षा लिने विद्यार्थीहरूको संख्या बर्सेनि घट्न थालेपछि विश्वविद्यालयहरू चिन्तित भएका छन् । त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयलगायत अधिकांश विश्वविद्यालयहरूले विद्यार्थीको अभाव झेल्न थालेका छन् । 

शैक्षिक गुणस्तरमा अब्बल मानिएको काठमाडौं विश्वविद्यालय(केयू)मा विद्यार्थी भर्नादरमा गतवर्ष मात्रै २२ प्रतिशतले कमी आएको थियो । यो क्रम बढिरहेको छ । करिब २०८ शैक्षिक कार्यक्रम भएको केयूमा अक्टोबर, २०२२ को भर्ना कार्यक्रममा मात्रै ५२ वटा शैक्षिक कार्यक्रममा विद्यार्थी आएनन् । यस्ता परिदृश्यले नेपालका विश्वविद्यालयका अवस्था निकै नै डरलाग्दो बनाएको छ । विद्यार्थी नआएपछि केयूले कतिपय कार्यक्रम रोक्नसमेत लागेको छ । 

केयूका अनुसार बीएमएसमा ३० सिट कायम गरिएकोमा २२ सिट रिक्त छ । बीवाइएसडब्लूको २४ मध्ये २२ सिट रिक्त छ । सो विषयमा मुस्किलले दुईजना विद्यार्थी भर्ना भएका छन् । एमएमएसको हालत पनि उस्तै छ । २० मध्ये १२ सिट रिक्त छ । विदेशी विद्यार्थीमा चर्चित रहेको बीए बुद्धिस्ट स्टडिजमा ३० मध्ये चार सिटमात्र पूरा भएको छ । पीजीडी इन लिडरसिप एण्ड म्यानेजमेन्टमा ३० मध्ये १६ सिट रिक्त छ । एक वर्षे एमएड इन ईएलटीमा पनि १५ मध्ये १२ सिट खाली छ । 

यस्तै, बीबीए (एनसीएम) मा १२० मध्ये ७८ सिटमात्र भरिएको छ । बीबीआईएसको ४० मध्ये २६ सिटमा भर्ना भएका छन् । त्यस्तै, बीएससी मिडमा २० मध्ये १३ सिट अझै रिक्त छ । बीएससी नर्सिङ (सीओएमएस)मा ४० मध्ये १७ सिट रिक्त छ । बीएससी नर्सिङ (एनजीएमसी) मा २० मध्ये १८ सिट रिक्त छ । इन्जिनियरिङको भर्ना जारी भएकाले सोको तथ्यांक उपलब्ध हुन केही समय लाग्ने बताइएको छ ।

केयूअन्तर्गत सात स्कुल (संकाय), २२ कलेज र दुई सयभन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन् । सो विश्वविद्यालयबाट हालसम्म ४० हजार ३८ जनाले अध्ययन पूरा गरिसकेका छन् र तीमध्ये पाँच हजार ३९ विदेशी विद्यार्थी छन् । हालसम्म ५५ मुलुकबाट विद्यार्थी आएर अध्ययन गरेका छन् ।

केयूमा विदेशी विद्यार्थीमध्ये सबैभन्दा बढी भारतीय विद्यार्थी आउने गरेका छन् । हालसम्म चार हजार २९४ विद्यार्थी भारतका छन् । त्यस्तै, स्वीडेन, श्रीलंका, अमेरिका, माल्दिभ्स, अष्ट्रेलिया लगायत मुलुकका विद्यार्थी पनि रहेका छन् । स्वदेशी विद्यार्थी संख्या ओरालो लाग्न थालेपछि केयूले सबै शैक्षिक कार्यक्रममा १० प्रतिशत कोटा आरक्षण गरेको जानकारी दिएको छ । तर, ती कोटा पूरा हुन तत्काल सम्भव देखिएको छैन ।

नीति अनुसन्धान प्रतिष्ठानले पनि विश्वविद्यालयमा विद्यार्थी भर्नादर घटिरहेको बारेमा अनुसन्धान गरेको थियो । यसरी उच्च शिक्षा लिने विद्यार्थी संख्या घट्नुको ठ्याक्कै कारण कसैसँग छैन । तर, यसरी विद्यार्थी संख्या घट्नु नेपाली विश्वविद्यालयहरूका लागि सुखद् संकेत भने पक्कै होइन । यसबारेमा केयू र शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) को सहकार्यमा छलफल भएको थियो । जसमा केयूले दुई वटा प्रस्तुतिमार्फत विद्यार्थी भर्नादरको समस्या भोगिरहेको र त्यसलाई सम्बोधन गर्न सकिने उपायहरूबारे छलफल गरिएको थियो ।

विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले विद्यार्थी नआउँदा केही शैक्षिक कार्यक्रम बन्द गर्नु परेको बताए । उनले भने, ‘विद्यार्थी ल्याउने बहानामा लोकप्रिय कार्यक्रम जथाभाबी विस्तार गर्ने पक्षमा हामी छैनौँ । तर, यस वर्ष कम विद्यार्थी भएका केही शैक्षिक कार्यक्रम विस्थापन गर्ने योजनामा छौँ ।’

उनले राज्यको नीति राम्रो नहुँदा यस्तो अवस्था सिर्जना भएको समेत औँल्याए । भन्छन्, ‘विदेशी विद्यार्थीलाई नेपाल भित्र्याउने भनी सरकारले नीति तथा कार्यक्रममा समावेश गरे पनि त्यसको कार्यान्वयनमा बेवास्ता गरेको छ । विदेशी विद्यार्थीको हकमा विद्यार्थी भिसा सहज छैन ।’

विदेशी विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गर्न ल्याउन सकिन्छ । तर, चिकित्सा शिक्षा आयोगको कारणले हुन नसकेको उनको भनाइ छ । भन्छन्, ‘आयोगले समयमा परीक्षा नलिने र नतिजा पनि समयमा सार्वजनिक नगरिदिने भएकाले विदेशी विद्यार्थी नेपालमा अध्ययनका लागि पर्खिएर बस्न सम्भव छैन ।’ केयूमा बुद्धिस्ट स्टडिज, म्युजिक, फाइन आर्टस्, वातावरण विज्ञान लगायत विषयमा ९० प्रतिशतभन्दा बढी विदेशी विद्यार्थी हुने गरेका छन् ।

यस्तै, नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेशिने क्रम बढ्नुले नै नेपालका विश्वविद्यालयले विद्यार्थी पाउन छाडेको प्रारम्भिक अनुमान गरिएको छ । तर, त्यो मात्रै कारण होइन । काठमाडौं विश्वविद्यालयको भर्ना निर्देशनालयका सहनिर्देशक ब्रजेस मिश्रले प्रवेश परीक्षामा पनि विगतको भन्दा कमी आएको र नयाँ विषयमा पनि विद्यार्थीको आकर्षण नदेखिएको बताए । उनले भने, ‘विद्यार्थी घट्नुको उत्तर कसैसँग पनि छैन । एसईईबाट कक्षा १२ सम्म पुग्दा ५० प्रतिशत विद्यार्थी घटिसकेका हुन्छन् । बाँकी विद्यार्थी पनि कोही विदेशिने, कोही विदेशी सम्बन्धन प्राप्त कलेजमा भर्ना हुने गरेका छन् ।’ 

एसईईमा सहभागी करिब साढे चार लाख विद्यार्थी कक्षा १२ सम्म आइपुग्दा करिब दुई लाखमा खुम्चिएको देखिन्छ । ती ५० प्रतिशत विद्यार्थी कहाँ गए भन्ने तथ्यांक राज्यसँग छैन । 

यस्तै, मिश्रका अनुसार त्रिवि ३४२ दिनसम्म लगातार बन्द हुँदा नेपालका सबै विश्वविद्यालयमा राजनीति हुन्छ भन्ने गलत बुझाइ विद्यार्थीमा परेको छ । यसले गर्दा विद्यार्थी विदेशीन चाहन्छन् । यसको असरले नेपालका विश्वविद्यालयमा विद्यार्थी संख्या घट्दै गएको छ ।

यस्तै, विदेशमा अध्ययन गर्न जाने विद्यार्थीबाट एकै वर्षमा तीन खर्ब रुपैयाँ विदेशनिु अर्को डरलाग्दो तथ्यांक हो । बर्सेनि सवा एक लाख विद्यार्थीले नो अब्जेक्सन लेटर लिने गरेका छन् । तीमध्ये ७० प्रतिशतभन्दा बढी विदेशिने गरेका छन् । शिक्षाका लागि बसाइ सर्ने क्रम विश्वभरि नै छ । विश्वमा यो दर ३.४ प्रतिशतले बढ्ने गरेको छ । तर, नेपालमा बर्सेनि २०.१ प्रतिशतका दरले बसाइ सर्ने प्रवृत्ति देखिएको छ । चीनमा यो दर ६.८ प्रतिशत र भारतमा १२.३ प्रतिशत छ ।

नेपालमा ११ विश्वविद्यालय सञ्चालनमा छन् भने प्रादेशिकलगायत विश्व विद्यालय तथा प्रतिष्ठान गरी २२ वटा छन् भने ८७ वटा संस्थाले विदेशी सम्बन्धन लिएर पठनपाठन गर्दै आएका छन् । उच्च शिक्षा अध्ययनरत विद्यार्थीमध्ये करिब ८० प्रतिशत त्रिभुवन विश्वविद्यालयमा छन् ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १२:१७
Weather Update