News Griha :: न्यूजगृह
एनसेलको शेयर खरिदबिक्रीविरुद्ध सांसद अमरेशको रिटमा आज सुनुवाइ 

काठमाडौं— दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको शेयर स्वामित्व खरिदबिक्रीविरुद्ध सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ ।

सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानी पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको शेयर खरिदबिक्री भएको दाबी गरेका छन् । उनले शेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका छन् ।

शुक्रबार दायर उक्त रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार र सोमबार दुबै दिन पेसी तोकिए पनि  ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । 

मलेसियन कम्पनी ‘आजियाटा ग्रुप बर्हाड’ ले एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट यूके लिमिटेड’ लाई बेच्ने निर्णय गरेपछि उक्त व्यावसायिक कारोबार सम्झौताले नेपालमा तरङ्ग पैदा भएको छ ।

राज्यका निकायलाई समेत जानकारी नहुने गरी मुलुक बाहिरबाट शेयर खरिदबिक्री भए भन्दै यो व्यावसायिक कारोबारको कानुनी प्रक्रिया र आर्थिक पारदर्शितामाथि प्रश्न उठेका हुन् ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  ०६:५०
Weather Update