News Griha :: न्यूजगृह
ध्रुबे हात्तीको दाह्रा काटियो, स्याटलाइट कलर पनि जोडियो

काठमाडौं— राष्ट्रिय निकुञ्ज वरिपरिका विभिन्न बस्तीमा पसेर आतंक मच्चाउँदै आएको जंगली मत्ता (भाले हात्ती) ‘ध्रुबे’को शरीरमा स्याटलाइट कलर जडान गरिएको छ । उसको दाह्रा पनि काटिएको छ ।  

सोमबार दिउँसो सवा तीन बजेतिर चितवन राष्ट्रिय निकुञ्जको सुखीभार पोष्ट नजिकै ध्रुबेलाई डार्ट (बेहोस बनाउने ओषधि लोड गरिएको बन्दुकले हान्ने) गरिएको थियो । बेहोस भएपछि हात्तीको घाँटीमा स्याटलाइट कलर जोडिएको निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए । दाह्रा बढेको पाइएपछि काटेर छाडिएको उनले बताए ।  

ध्रुबेले दसैँअघि बाट माडी र जगतपुर क्षेत्रमा बस्ती पसेर दुख दिइराखेको थियो। स्याटलाइट कलर जोडेपछि अब ध्रुबे कुन क्षेत्रमा छ भन्नेकुरा थाहा पाउन सकिन्छ। बस्तीतिर पस्न लागेको अवस्थामा तत्काल नियन्त्रण गर्न सकिन्छ। 

ध्रुबेलाई स्याटलाइट कलर जोडिएको यो पहिलो पटक भने होइन। २०६९ मंसिर ६ मा उसलाई पहिलो पटक स्याटलाइट कलर जोडिएको थियो। त्यतिखेर उसले निकुञ्ज आसपासका क्षेत्रमा आतंक मच्याएको थियो। 

त्यो उसको शरीरबाट झरेपछि दोस्रो पटक २०७७ सालमा कोरोना महामारीको समयमा स्याटलाइट कलर जोडिएको थियो। त्यो पनि झरेपछि नयाँ लगाइएको हो। करिब २ वर्षअघि पनि ध्रुबेलाई नियन्त्रणमा लिएर दाह्रा काटिएको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १८:३१
Weather Update