
काठमाडौं— रुसी सेनामा गएका थप एक नेपाली युक्रेनी सेनाको नियन्त्रणमा परेका छन् ।
दाङका प्रतीक पुन युक्रेनी सेनाको कब्जामा परेका हुन् । कब्जापछि युक्रेनी सेनाले पुनको भिडिओ सार्वजनिक गरेको छ । रुसी सेनामा भर्ती भएपछि युद्ध गर्न गएर समातिएका पुन तेस्रा नेपाली हुन् ।
यसअघि रुसी सेनामा गएका काभ्रेका सिद्धार्थ ढकाल र बर्दियाका विवेक खत्रीलाई रुस–युक्रेन युद्धस्थल बाट युक्रेनी सेनाले नियन्त्रणमा लिएको थियो ।
पुनले आफू रुसमा पढ्न आएको र त्यसको केही समयपछि त्यहाँका एजेन्ट दाइहरूको सल्लाहमा रुसी सेनामा भर्ती भएको उल्लेख गरेका छन् । ‘म यहाँ विद्यार्थी भिसामा आएको हुँ । म मस्कोमा दुई/तीन महिना बसेँ । त्यसपछि एजेन्ट (दाइहरू)ले आर्मीमा लगाउनु भयो । हामीलाई सम्झौता (कन्ट्याक्ट) पेपरको बारेमा थाहा थिएन,’ पुनले भिडिओमा भनेका छन्, ‘हामीलाई युद्धमा के भइरहेको छ, थाहा थिएन । मैले ती दाइकै कुरा सुनेर आर्मीमा भर्ना भएँ ।’
पुनले केही महिनाको प्रशिक्षणपछि फिल्डमा पठाएको र अहिले आफू युक्रेनमा रहेको प्रष्ट्याएका छन् । ‘म सबै नेपाली जनतालाई रुसमा नआउन अनुरोध गर्दछु । यो युद्धमा संलग्न हुनको लागि नआउनुहोस् । तपाईं पैसाको लागि आउन सक्नुहुन्छ । तर त्यो नै सबैथोक होइन,’ उनले भनेका छन्, ‘तपाईं नेपालमा बस्नु भयो भने राम्रो हुन्छ । एजेन्टले नेपाली जनतालाई युद्ध केही समयमा रोकिन्छ र पैसा लिएर फर्किन पाइन्छ भन्छन् । तर त्यो होइन, तर युद्ध सकिएको छैन, यहाँ एकदम गाह्रो छ ।’
युक्रेनी सेनाले यसअघि काभ्रेका २२ वर्षीय सिद्धार्थ ढकाललाई नियन्त्रणमा लिएको थियो । उनलाई मंसिर १७ गते युक्रेनको जेपोरोजिया क्षेत्रबाट पक्राउ गरिएको थियो। युक्रेनी सेनाले असोज २७ मा पहिलो पटक बर्दियाका २३ वर्षीय विवेक खत्रीलाई नियन्त्रणमा लिएको भिडिओ सार्वजनिक गरेको थियो । खत्री अझै रिहा भएका छैनन् ।













