
काठमाडौं— निलम्बित प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न माग गर्दै मृतक सशस्त्र प्रहरीका असई थमन बिकको परिवार काठमाडौं आएको छ ।
मृतक असई थमन बिककी पत्नी शोभा र भाउजू कमला काठमाडौं आएका हुन् । नेकपा एमालेबाट चुनाव जितेका कोइरीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।
प्रहरी प्रधान कार्यालयले सो पुर्जी अहिले देशभरका प्रहरी युनिटहरूमा पठाएको छ । तर, अहिलेसम्म कोइरी पक्राउ नपरेको भन्दै पीडित परिवारले उनलाई पक्राउ गर्न माग गरेका छन् ।
थमनकी भाउजू कमलाले भनिन्, ‘न्याय खोज्न काठमाडौँ आएका हौँ, न्याय नपाएसम्म फर्किँदैनौँ ।’ थमनका परिवार बाँकेबाट काठमाडौं आएर कानुन कार्यान्वयन गर्ने निकायका अधिकारीहरूसँग भेटघाट थालेका छन् ।
प्रधानमन्त्री, उपप्रधान एवं गृहमन्त्री र प्रहरी प्रमुखलाई भेटेर कोइरीलाई पक्राउ गर्न दबाब दिने कमलाले जानकारी दिइन् ।
के हो घटना ?
सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन बिकको हत्या गरेको आरोप कोइरीमाथि छ । अदालतले कोइरीलाई पक्राउ गर्न आदेश दिएको छ । तर, प्रहरीले उनलाई खोजिरहेको बताउँछ ।
गत वर्षको मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा महोत्तरी क्षेत्र नं १ बाट नेकपा एमालेबाट उम्मेदवार बनेदेखि नै कोइरी चर्चामा छन् । जनता समाजवादी पार्टी (जसपा) छोडेर प्रतिनिधि सभा निर्वाचनको मनोनयनको अघिल्लो दिन मात्र कोइरी एमाले प्रवेश गरेका हुन् ।
२०७२ सालमा मधेस आन्दोलन चलिरहेको थियो । प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन बिकलाई २५ भदौ ०७२ मा एम्बुलेन्समा राखेर उपचारका लागि जनकपुर लगिँदै थियो । बिकलाई एक्लै पारेर आन्दोलनकारीहरूले जलेश्वर नगरपालिका–२ स्थित हाटबजारमा कुटपिट गरेका थिए । तर, महोत्तरी गाउँपालिकाको सोनउखरामा एम्बुलेन्सबाट थुतेर आन्दोलनकारीले निर्घात कुटपिट गर्दा बिकको ज्यान गएको थियो ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरमा कार्यरत थिए असई बिक । बिक हत्या घटनाका मुख्य आरोपित हुन् सांसद कोइरी ।
थमन हत्या प्रकरणमा २८ जनाविरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता भएको छ । तीमध्ये केही सजाय भुक्तान गरिरहेका छन् भने केही अझै फरार छन् । १९ जनाको सम्पत्ति रोक्का छ ।
असई विक हत्या अभियोग लागेका रामशंकर मिश्र (शाहीजी), सुरेश पाण्डेय र मधेस प्रदेशका पूर्वसामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा सामान्य तारेखमा रिहा भइसकेका छन् । हत्या अभियोग लागेका मिश्र जलेश्वर नगरपालिकाका पूर्वप्रमुख हुन् भने पाण्डेय मधेस केन्द्रित दलका नेता ।
प्रहरीको फरार सूचीमा रहेका व्यक्ति निर्वाचनमा उम्मेदवारी दिन्छन्, विजयी हुन्छन् अनि संसद् भवनमा शपथसमेत लिन्छन् । तर, आरोपितलाई प्रहरीले देख्दैन, पक्राउ गर्दैन । असई बिकको हत्यासम्बन्धी मुद्दामा उच्च अदालत जनकपुरबाट थुनामा राख्न आदेश सुनाइएका व्यक्ति हुन् सांसद कोइरी ।
बिक हत्या घटनामा जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ मा कोइरीलाई १ लाख रुपैयाँ धरौटीमा छाडेको हो । जनकपुर उच्च अदालतले ०७७ मंसिर १९ मा जिल्लाको आदेश उल्ट्यायो र कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दियो । त्यसयता कानुनको नजरमा फरार कोइरी कानुन निर्माण गर्ने थलोमै छन् । यसअघि सांसदको शपथ ग्रहण कार्यक्रममा कोइरीलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको भनियो, तर पनि उनी पक्राउ परेनन् ।
भ्रष्टाचार अभियोगमा विशेष अदालतले दोषी ठहर गरेका नेपाली कांग्रेसबाट निर्वाचित सांसद तथा पूर्वमन्त्री टेकबहादुर गुरुङको पद निलम्बनमा छ । तर, कोइरीलाई संघीय संसद सचिवालयले निलम्बन गरेको छैन । प्रहरी प्रधान कार्यालयले कोइरीलाई नियन्त्रणमा लिन सचिवालयलाई पत्र लेखेर सहयोग मागे पनि उनलाई निलम्बन गर्न पत्र नै पठाएको छैन ।
जघन्य अपराधमा मुछिएका व्यक्तिलाई नै टिकट दिने र जनताले समेत उनैलाई जिताउने परिपाटी नेपालमा नौलो होइन । यसअघि पनि विभिन्न अपराधमा मुछिएका व्यक्ति निर्वाचित भएर संसद् छिरेका छन्, मन्त्री भएका छन् ।
पटकपटक प्रहरीको आँखा छल्दै आएका एमाले सांसद कोइरीले वारेसमार्फत प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराए र निर्वाचित भएको प्रमाणपत्र पनि वारेसमार्फत नै लिएका हुन् । कोइरीले नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेललाई पराजित गरेका हुन् ।
को हुन् कोइरी ?
कोइरी ०५४ को स्थानीय निकायको निर्वाचनमा स्वतन्त्रबाट महोत्तरीको तत्कालीन निगौल गाविसको अध्यक्ष पदमा विजयी भए । उनले इँटाभट्टासहित विभिन्न व्यवसायमा लगानी गरेका छन् । कोइरीको राजनीतिक पृष्ठभूमि भने कांग्रेस हो । १० कक्षामा पढ्दा उनी नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध भएका थिए । उनको पढाइ पनि १० कक्षासम्म मात्रै हो ।
०५४ सालको निर्वाचनमा उनले निगौल गाविस अध्यक्षमा कांग्रेसबाट टिकटको अपेक्षा राखेका थिए । तर, त्यतिबेला पार्टीले टिकट नदिँदा स्वतन्त्रबाट उम्मेदवार बनेर उनी निगौल गाविसको अध्यक्षमा विजयी बनेका थिए ।
०७४ को स्थानीय तह निर्वाचनमा कोइरीका छोरा दीपेन्द्र महतो नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई हराएर गौशाला नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए । आफ्नै छोरा प्रमुख भएका कारण उनलाई महोत्तरी क्षेत्र नं १ बाट चुनाव जित्न यसपटक सहज भएको स्थानीयको बुझाइ छ ।
कोइरीलाई पक्राउको डर छ । तर, त्यति हुँदाहुँदै पनि प्रहरी प्रशासन उनलाई पक्राउ गर्न पछि हटिरहेको छ । यसले कानुनी राज्यको खिल्ली उडाएको छ ।
तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलेसमेत एमाले सांसद कोइरीलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका थिए । तर, गृहमन्त्रीको निर्देशनसमेत प्रहरीले टेरेन । फरार अभियुक्त संसदमै उपस्थित हुँदा पनि पक्राउ गर्न नसकेको आरोप खेपेका थिए तत्कालीन गृहमन्त्री लामिछानेले ।













