
काठमाडौं— क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा कानुन व्यवसायीको तर्फबाट स्थगित गरिएको छ ।
चितवनमा नेपाल बार एसोसिएसनको गोष्ठीका कारण कानुन व्यवसायी उपस्थित हुन नसक्ने भएपछि मुद्दा स्थगित गरिएको हो । आइतबार लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पेसी तोकिएको थियो ।
लामिछानेका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेका अनुसार अन्तिम सुनुवाइका लागि पेसी तोकिएकोमा शम्भु थापा लगायतका कानुन व्यवसायीहरू उपस्थित हुन नसक्ने भएपछि मुद्दा स्थगित गराइएको हो ।
यसअघि गत कात्तिक २३ गते न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षसँग बहस नोट माग गरेको थियो । दुवै पक्षबाट बहस नोट पेस भएपछि आइतबार सुनुवाइका लागि पेसी तोकिएको थियो ।
चितवनको सौराहामा नेपाल बार एसोसिएसनको राष्ट्रिय गोष्ठी भइरहेको छ । गोष्ठीमा देशभरका एक हजारभन्दा बढी कानुन व्यवसायी सहभागी छन् ।













