
काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ ।
भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो । सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले बताए ।
उनले भने, ‘शंकास्पद लागेपछि चेकजाँच गर्ने क्रममा भन्सार एरिया कटेपछि उनलाई पक्राउ गरिएको हो ।’
प्रहरीले इजिप्टका ती नागरिकसँग संलग्न भएको आशङ्कामा थप दुई सुडानी नागरिकहरूलाई पनि पक्राउ गरेको छ । यद्यपि, उनीहरूले आफ्नो संलग्नता स्वीकारेका छैनन् । सुनसहित समातिएका इजिप्टका नागरिक फ्लाई दुबईको एफजेड ५७३ विमानमार्फत ११:५१ मा काठमाडौं अवतरण गरेका थिए ।
यही विमानमार्फत गोरखाका चन्द्र घले १४ किलो सुनसहित बिहीबार राति ११ः४० बजे अवतरण गरेका थिए । विमानस्थल भन्सार कार्यालयले विशेष सूचनाका आधारमा घलेलाई १४ किलो सुनसहित पक्राउ गरेको थियो ।
शुक्रबार प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रसुवा नाकाबाट आएको दुई किलो सुन बरामद गरेको थियो । कार्यालयले तीन दिनअघि न्युरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो अवैध सुन समेत बरामद गरेको थियो ।
केही समयअघि विमानस्थलको सबै सुरक्षा जाँच पास भएर बाहिरिएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसअघि भेपमा लुकाएर ९ किलो सुन ल्याएको समेत खुलेको थियो । यो मामिलामा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल अहिले पनि थुनामा छन् ।













