News Griha :: न्यूजगृह
सभापति देउवाको नेतृत्व क्षमतामाथि कोइरालाको प्रश्न
शेरबहादुर देउवा (बायाँ) र शेखर कोइराला (दायाँ) । फाइल तस्बिर    

काठमाडौं— नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनतासँग टाढा हुँदै गएकाले पार्टी कमजोर बनेको भनेर आत्मसमीक्षा गर्न नेतृत्वलाई झक्झक्याउन थालेका छन् ।

निर्वाचन अघि देखि नै माओवादीसँगको सहकार्यप्रति असन्तुष्टि जनाउँदै आएका नेता कोइरालाले यस्तो सहकार्य कांग्रेसलाई हानिकारक रहेको निष्कर्ष निकालेका छन् । कोइरालाको धारणा छ, कम्युनिस्ट पार्टीहरूसँग सहकार्य गरिरहने हो भने कांग्रेस जनतासँग टाढिँदै जाने छ र त्यसले लोकतन्त्रमै नकारात्मक असर पर्नेछ ।

गतवर्ष आमनिर्वाचन पछि सरकार गठन गर्ने पहिलो दलको हैसियत पाएको कांग्रेस सरकार गठनमा सहयोगी मात्र बनेकामा पनि नेता कोइरालाको असन्तुष्टि सार्वजनिक हुँदै आएको छ ।

आमनिर्वाचनमा कांग्रेससँग सहकार्य गरेको तर निर्वाचन परिणाम पछि एमालेसँग मिल्न पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल फर्केर आउँदा पनि उनैलाई प्रधानमन्त्री बन्न सहयोग गरेर सभापति शेरबहादुर देउवाले गलत निर्णय गरेको कोइराला र अरु केही नेताको धारणा रहँदै आएको छ ।

निर्वाचनमा कांग्रेस एक्लै जनतामाझ जानुपर्ने उनीहरूको तर्क थियो । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पनि नेता कोइरालाको त्यो नीतिगत अडानको समर्थन गर्दै आएका छन् । देशमा पछिल्ला दिनहरूमा भएका ठूला भ्रष्टाचारका घटनामा पार्टीकै नाम चलेका नेता मुछिँदा पनि सभापति देउवाले हलुका रुपमा लिएर नेपाली कांग्रेसको छवि कमजोर बनाएको भनेर आलोचना हुँदै आएको छ ।

हालै चर्चित एनसेलको शेयर बिक्री प्रसङ्गमा पनि राजनीतिक संलग्नता रहेको भन्दै महामन्त्री गगन थापाले आफ्नै नेतृत्वप्रति पनि जवाफदेही हुन प्रश्न तेर्साएका छन् । एनसेल शेयर बिक्री विवादमा कर्मचारी प्रशासन र राजनीतिक नेतृत्वको मिलिभगत रहेको भनेर संसद्का समितिहरूमा चर्को बहस जारी छ । यसमा सबै दलका सांसदले आफ्नै नेतृत्वमाथि आशंका गर्दै प्रश्न गरिरहेका छन् ।   

निर्वाचनमा प्रतिनिधि सभामा तेस्रो दलको हैसियत पाएको माओवादी केन्द्रले सबैभन्दा ठूलो दलको सहयोग लिएर सरकारको नेतृत्व गरिरहेको छ। प्रतिनिधि सभाको दोस्रो ठूलो दल  एमाले पनि प्रमुख प्रतिपक्षको जस्तो भूमिकामा सक्रिय देखिँदैन ।

कांग्रेसको वैकल्पिक नेताको स्थानमा रहेका कोइरालाले सभापति देउवाको नेतृत्वलाई ठाडो चुनौति दिन थालेका छन् । कोइरालाले पार्टीलाई नीतिगत रुपमा स्पष्ट दिशानिर्देश गर्न नसकेर ढुलमुलको अवस्थामा राखेको भनेर सभापति देउवाको आलोचना गरिरहेका छन् । सभापति देउवाले पार्टीभित्र आफ्नो नेतृत्व क्षमतामाथि कटुआलोचना भैरहँदा पनि त्यसलाई वेवास्ता गरिरहेको देखिन्छ ।

आजै पनि एक कार्यक्रममा नेता कोइरालाले पार्टीलाई परिवर्तन गर्दै बलियो बनाउन जनतामाझ जानुपर्ने बताए ।

चितवन–काठमाडौं प्रजातान्त्रिक सङ्गमको ३३औं वार्षिक साधारणसभा तथा १२औं अधिवेशनको उद्घाटन गर्दै कोइरालाले भने, ‘देशलाई सम्हाल्ने लोकतान्त्रिक पार्टी कांग्रेस भएकाले कांग्रेस परिवर्तन नभई मुलुक परिवर्तन हुन सक्दैन।’

कांग्रेसलाई जनतासँग जोड्न सके मात्र पार्टी परिवर्तन भएर अगाडि बढ्न सक्ने कोइरालाको भनाई भनाई छ ।

चितवनमा माओवादीलाई निर्वाचनमा आफ्नो स्थान छोडिदिएर संगठन कमजोर बनाएको भनेर नेता कोइरालाले सांकेतिक रुपमा सभापति देउवालाई त्यसको जिम्मेवार रहेको टिप्पणी गरेका छन् ।

कोइरालाले चितवनमा आफ्नो पार्टी किन कमजोर हुँदै गयो भन्ने विषयमा सांकेतिक रुपमा भने, ‘केही समयदेखि चितवन प्रजातान्त्रिक आन्दोलनभन्दा अलग बाटोबाट हिँडिरहेको छ। यो कांग्रेसकै केन्द्रीय नेतृत्वका कारण भएको हो। यसको नतिजा चितवनमा कांग्रेसको सङ्गठन कमजोर हुँदै गएको छ। यसलाई बलियो बनाउन सबै एकजुट हुनुपर्छ ।’ 

चितवनका निर्वाचन क्षेत्र, पालिका, वडा मात्र नभई टोलमा समेत व्यक्तिवादी चरित्र हाबी हुँदा पार्टी सङ्गठन कमजोर हुँदै गएको नेता कोइरालाको भनाइ थियो ।

गएको स्थानीय निर्वाचनमा माओवादी अध्यक्ष दाहालकी छोरी रेणु दाहाललाई भरतपुर महानगरको प्रमुख बन्न मार्ग प्रशस्त गर्दै सभापति देउवाले आफ्ना दाबेदार नेताहरूलाई बलपूर्वक दमन गरेको भनेर असन्तुष्टि चुलिएको थियो ।

पछिल्ला निर्वाचनहरूमा चितवनमा नेपाली कांग्रेसको समर्थक मतको सम्मान गर्न नसकेको भनेर सभापति देउवा आलोचित हुँदै आएका छन् । नेता कोइरालाले ती असन्तुष्ट नेता कार्यकर्ताको दबिएको आवाजलाई सम्बोधन गरेर सभापति देउवाको आलोचनाको स्वरलाई बलियो बनाइदिएका छन् । 

यो पृष्ठभूमि माथि टिप्पणी गर्दै कोइरालाले कांग्रेस एक्लै चुनाव लडे मात्र बलियो पार्टी बन्नसक्ने बताए। ‘जबसम्म हामी एक्लै चुनाव लड्न सक्दैनौँ तबसम्म पार्टी झनझन् कमजोर हुँदै जान्छौ,’ उनको भनाई छ । 

महाधिवेशन भएको दुई वर्ष बित्न लाग्दासम्म पार्टीको भ्रातृ संस्था तथा विभागलाई पूर्णता दिन नसक्नु पार्टी नेतृत्वको कमजोरी भएको नेता कोइरालाको आरोप छ ।

सभापति देउवाले पार्टी सङ्गठनमा पक्षपाती व्यवहार गरेकाले भ्रातृ संगठनहरू समेत व्यक्तिवादी प्रभावमा परेर कमजोर हुँदै गएको नेता कोइरालाको भनाई छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १८:२७
Weather Update