-1702107356.jpg)
काठमाडौं— मौसममा बदली आएसँगै उच्च पहाडी भेगमा हिमपात सुरु भएको छ ।
हिमपात भएपछि चिसो बढेर लेकाली क्षेत्रको जनजिवन प्रभावित भएको छ । ताप्लेजुङको पाथीभरा र आसपास क्षेत्र, इलामको सन्दकपुर लगायत क्षेत्रमा हिमपात भएको हो ।
वर्षापछि ती क्षेत्रमा हिमपात भएको स्थानीयले जनाएका छन् । स्थानीय लाक्पा शेर्पाका अनुसार इलामको सन्दकपुर गाउँपालिकाको जौबारी, कालपोखरी लगायत क्षेत्रमा हिमपात भएको छ ।
हिमपातपछि चिसो निकै बढेको उनको भनाइ छ । गत बिहीबार दिउँसोदेखि नै ती क्षेत्रमा हिमपात हुन थालेको हो । ३ हजार ६ सय ३६ मिटर उचाइमा रहेको सन्दकपुर क्षेत्र कोशी प्रदेशको प्रमुख पर्यटकीयस्थल मध्येको एक हो । हिमपात भएपछि त्यस क्षेत्रमा घुम्न जाने र हिउँमा खेल्नेहरू आकर्षित हुने गरेका छन् ।
-1702107356.jpg?timestamp=1702107377062)
वर्षा र हिमपातपछि किसान खुसी भएका छन् । आफूहरूले लगाएको बालीनाली सप्रने भएकाले उनीहरु उत्साहित छन् । ताप्लेजुङको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पाथीभरा क्षेत्रमा पनि वर्षा र हिमपात भएको छ । हिमपात भएपछि तीर्थयात्रीहरू प्रभावित बनेको स्थानीय जीवन खतिवडाले बताए ।
मौसम परिवर्तन भइरहेकाले तराई क्षेत्रमा हुस्सु लाग्न थालेको छ । दुई दिनयता बेला बेला वर्षा हुने र धुम्म हुने गरेकाले तराईका जिल्लामा पनि चिसो बढेको छ ।













