News Griha :: न्यूजगृह
ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु, नागढुंगा सडक अवरूद्ध

काठमाडौं—  थानकोटमा ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरूद्ध पारेका छन् ।

शुक्रबार दिउँसो ३ बजे चन्द्रागिरी नगरपालिका-३ थानकोट खरिबोटमा कलंकीबाट नागढुंगा जाँदै गरेको बा ८८ प ७९५५ नम्बरको स्कुटरलाई सोही तर्फ जाँदै गरेको प्र ३-०१-००६ ख १३०८ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट स्कुटरमा सवार चन्द्रागिरी-२ नागढुंगा बस्ने ४० वर्षीय श्रीधर भुर्तेल र उनकी श्रीमती अस्मिता भण्डारी गम्भीर घाइते भएका थिए ।

उनीहरूलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा अस्मिताको गएराति उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुङ्गेलले जानकारी दिए ।

उनको मृत्यु भएपछि शनिबार बिहान स्थानीयहरूले नागढुंगा सडक अवरूद्ध पारेका हुन् । खरिबोट, थानकोट र नागढुंगा चेकपोष्टमा दर्जनौँको सङ्ख्यामा उपस्थित भएका स्थानीयहरूले बिहान केहीबेर सडक ठप्प पारेका हुन् ।

सडक ठप्प भएपछि प्रहरीले स्थानीयसँग छलफल गरी सडक अवरोध खुलाएको छ । बिहान १० बजेदेखि करिब १ घन्टा अवरूद्ध भएपनि अहिले दुईतर्फी नै सडक सञ्चालनमा आएको प्रहरी प्रभाग नागढुंगाका इन्स्पेक्टर सरिता मगरले जानकारी दिइन् । 

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १२:२४
Weather Update