News Griha :: न्यूजगृह
जुम्लाको न्यूनतम तापक्रम माइनसमा झर्‍यो, जाडोले जनजीवन प्रभावित
जुम्लाको हिमा नदी । फाइल तस्बिर

जुम्ला— जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले यहाँको जनजीवन प्रभावित भएको छ ।

हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जिल्लाको न्यूनतम तापक्रम माइनस २ दशमलव ६ डिग्री र अधिकमत तापक्रम १५ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।

तापक्रम माइनसमा झरेसँगै बिहानबेलुका घरबाट बाहिर निस्कन कठिन भएको चन्दननाथ नगरपालिका–४ निवासी सरिता न्यौपानेले बताइन् । एक सातादेखि बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको छ ।

चिसो बढेपछि अस्पतालमा बिरामीको संख्या पनि बढेको छ । चिसो बढेसँगै रुघाखोकीका बिरामीको चाप बढेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक पुजन रोकायले बताए ।

चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रलगायत प्रतिष्ठानमा ज्वरो, रुघाखोकी, दम, ‘कोल्ड डायरिया’का बिरामीको सङ्ख्या बढेका छन् । अहिले दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि प्रतिष्ठानमा आउने गरेका छन् ।

लगातार बढ्दै गएको जाडोबाट बालबालिका, वृद्ध र सुत्केरी महिला बढी प्रभावित भएका छन् । बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुघाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्ने लगायत समस्या देखिएको तिला गाउँपालिकाको रारालिही स्वास्थ्यचौकी प्रमुख कमल रावतले बताए । रासस

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  ०७:५९
Weather Update