News Griha :: न्यूजगृह
पोर्चुगलका लागि नेपाली राजदूतमा सनिल नेपालको नाम अनुमोदन, रोनाल्डो नेपाल ल्याएर फुटबल खेलाउने

काठमाडौं—  संसदीय सुनुवाइ समितिको बैठकले पोर्चुगलको राजदूत पदमा सनिल नेपाललाई सर्वसम्मतिले अनुमोदन गरेको छ । 

आज बसेको समिति बैठकले नेपाललाई राजदूत नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय अनुमोदन गरेको समिति सदस्य पशुपति शमशेर जबराले जानकारी दिए । 

कात्तिक २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाललाई पोर्चुगलको लागि राजदूत पदमा नियुक्तिको लागि सिफारिस गरेको थियो ।

उक्त सिफारिस पत्र संसदीय सुनुवाइ समितिलाई प्राप्त भएपश्चात मंसिर ८ गते बसेको बैठकले प्रस्तावित व्यक्तिको उजुरी माग गर्ने निर्णय गरेको थियो । उनी विरुद्ध एउटा मात्रै उजुरी परेको थियो ।

अनुमोदन अघि सनिल नेपालले नेपालमा पोर्चुगलका फुटबल खेलाडी ल्याउने कार्ययोजना प्रस्तुत गरेका थिए । नेपालले नेपालमा जलवायु परिवर्तनबाट हिमालमा हिउँ कम हुँदै गएको देखाउन पोर्चुगलका राष्ट्रिय फुटबल खेलाडीलाई नेपाल बोलाएर नेपाली खेलाडीसँग खेलाउने कार्ययोजनासमेत प्रस्तुत गरे ।

यसबाट नेपाली खेलाडीहरूको कार्यक्षमता समेत अभिवृद्धि हुने उनको भनाई थियो । 
साथै नेपालले पोर्चुगलबाट भारतको गोवामा आउने पर्यटकहरूलाई नेपालसम्म ल्याउने कार्ययोजना समेत सुनाएका थिए ।  

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  २१:०४
Weather Update